काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी जापानको औपचारिक भ्रमणमा जाने भएकी छिन्। जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारीले कात्तिक३ देखि ५ सम्म जापानको भ्रमण गर्नेछिन्।
म्यानमारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी त्यहाँको भ्रमण सकेर सिधै टोकियो प्रस्थान गर्नेछिन्।
जापानका राजा नुरुहितोको राज्याभिषेकमा सहभागी हुन भण्डारी जापान जान लागेको परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जनाएको छ।
नुरुहितोको राज्याभिषेक कात्तिक ५ गतेका लागि तोकिएको छ। राज्याभिषेक समारोहमा सहभागी भएपछि राष्ट्रपति भण्डारी राजा नुरुहितोले आयोजना गर्ने भोजमा सहभागी हुनेछिन्।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द र जापानका प्रधानमन्त्री सिन्जो आवेसँग भेटघाट गर्नेछिन्।
त्यस्तै, नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि राष्ट्रपति सहभागी हुनेछिन्।
राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा, राष्ट्रपति र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन्।
राष्ट्रपति भण्डारी कात्तिक६ गते काठमाडौं फर्किनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।