काठमाडौं- हरेक कलाकारलाई आफ्नाे फिल्म हिट हाेस् भन्ने लाेभ हुन्छ। १० वर्षअघिदेखि अभिनय थालेकी केकी अधिकारी र एक वर्षअघिमात्रै फिल्म क्षेत्रमा भित्रिएकी सुपुष्पा भट्ट दुवैसँग याे लाेभ नभएकाे हाेइन।
तर, समयले साथ नदिएर हाे या आफ्नै कमजाेरीका कारण उनीहरूले हिटकाे स्वाद चाख्न पाइरहेका थिएनन्।
अभिनयका हिसाबले प्रशंसा पाइरहे पनि व्यावसायिक हिसाबले केकीका फिल्म सधैं बक्स अफिसमा असफल देखिए। डेब्यू फिल्म 'रणवीर' फ्लप भएपछि सुपुष्पालाई पनि पहिलाे गाँसमै ढुंगा पर्यो।
केहिदिन अघि केकीले नेपाल लाइभसँगकाे कुराकानीमा खुलेरै भनिन्, 'मेरा यति धेरै फिल्म फ्लप भइदिएकि अब त मनबाट फ्लपकाे डर नै हटिसक्यो।'
केकीकाे भनाइ सुन्दा लाग्थ्याे उनमा आफ्नाे फिल्म हिट हुन्छ भन्ने आश नै मरिसकेकाे छ। तर, कहिलेकाहीँ त्याे मरिसकेकाे आश पनि चलेकाे ब्यानरसँग काम गरेपछि ब्यूँतिनेरहेछ।
सायद केकी र सुपुष्पालाई पनि अहिले यस्तै लागिरहेकाे छ। हलमा उनीहरू अभिनित फिल्म 'छ माया छपक्कै'ले उत्साहजनक व्यापार गरेपछि अहिले उनीहरू दंग छन्।
फिल्म वृतमा अहिले दुवैलाई दीपक-दीपा फापेकाे टिप्पणी भइरहेछ। झन् सुपुष्पालाई त चिठ्ठै परेझैं भएकाे छ। कारण फिल्ममा उनकाे भूमिका छाेटाे छ तर, फिल्मकाे प्रचारमा उनकाे उपस्थित लिड हिराेइन झैं देखिन्छ।
निर्माण युनिटले पनि फिल्मभित्र छाेटाे स्पेस दिए पनि बाहिर प्रचारमा राम्रै स्थान दिइरहेकाे छ।
व्यापारिक हिसाबले दीपक-दीपालाई त फिल्म सधैं फापिरहेकै थियाे। यसपाली उनीहरूसँग जाेडिएर केकी र सुपुष्पालाई पनि फाप्याे। दुवैले सुपरहिट फिल्मकी हिराेइनकाे ट्याग भिर्ने मौका पाए।
अब याे ट्याग कतिन्जेल जाेगिरहने हाे त्याे त समयले देखाउने नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।