-नारायण ढुङ्गाना/रासस
काठमाडौं- संविधान जारी भएपछिको निर्वाचनबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षाका साथ अग्रसर भए पनि पार्टी एकतापछि आम नेता तथा कार्यकर्ताले पूर्ण जिम्मेवारी पाइसकेका छैनन्।
सरकार र पार्टीको पर्याप्त समन्वय भई आफूहरुले उचित जिम्मेवारी पाएमा जनताका बीचमा पुगेर सरकार र पार्टीको सन्देशजवाहक हुन तयार ती कार्यकर्ताले पार्टीको नेतृत्वलाई एकता प्रक्रियाको बाँकी कामलाई चाँडो पूर्णता दिन पटक-पटक सुझाउँदै आएका छन्। नेकपाले दसैं, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान तथा शुुभकामना आदानप्रदान कार्यक्रममा सहभागी कार्यकर्ताले पार्टी एकीकरणको बाँकी काम पूरा गरेर सर्वसाधारणले अनुभूत गर्नेगरी काम गर्न सुझाएका छन्।

चियापानका क्रममा भेटिएका नेकपा कार्यकर्ताले केही सकारात्मक, केही गुनासो र केही आलोचनात्मक टिप्पणीसहित नेतृत्वलाई गलत प्रवृत्तिको साथ नदिन र राम्रा कामको प्रोत्साहन गर्न आग्रह पनि गरेका छन्। उनीहरुले आपसी खिचातानीलाई थाती राखेर अगाडि बढ्नुपर्ने समेत बताए।
पार्टी एकीकरण समयमै नटुङ्गिनुमा पनि नेताहरुको व्यक्तिगत स्वार्थ मुल कारण भएको कार्यकर्ताको बुझाइ छ। तेरो र मेरो भन्ने भावनाले काम गर्दा एकीकरणले पूर्णता नपाएको भन्दै कार्यकर्ताले आक्रोश पोखेका छन्। विसं २०७४ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछि गठित नेकपाले ढिलोगरी केन्द्रीय नेताहरुको कार्य विभाजन, प्रदेश, जिल्ला र भ्रातृ सङ्गठनका इञ्चार्ज/सह-इञ्चार्ज तोके पनि सबै जिल्ला, पालिका र भ्रातृ सङ्गठनका तल्लो स्तरसम्मको एकताले पूर्णता पाएको छैन।
नेकपा गुल्मीका सङ्गठित सदस्य वासुदेव केसीले अल्झन नगरी पहिले पार्टी एकीकरण टुङ्ग्याएर विकासको मार्गलाई तीव्रता दिन र जनतासँग जोडिने गरी कार्यकर्तालाई जिम्मेवारी दिन पार्टी नेतृत्वलाई आग्रह गरे। केसीले भने, 'दुई तिहाइको सरकार भएर पनि तल्लो तहमा महसुस गर्नेगरी काम हुन सकेको छैन, २०५१ को मनमोहन सरकार कति लोकप्रिय बनेको थियो, अहिले त्यति ठूलो शक्तिको सरकार बनेको छ, मन छुने काम गरेको देखिँदैन।'

यद्यपि सरकारले रेल, सुरुङमार्ग, सडक निर्माणमा चालेको कदमलाई सकारात्मक रुपमा लिँदै उनले सँगसँगै जनताले दैनिकरुपमा भोगिरहने समस्यामा ध्यान दिन नेतृत्वलाई आग्रह गरे। महँगी, भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीजस्ता गतिविधि रोक्न सरकार कडारुपमा प्रस्तुत हुन जरुरी रहेको औँल्याउँदै कार्यकर्ताले सरकारको लगाम नेकपामा निहीत भएकाले त्यहीअनुसार आफ्ना संयन्त्र परिचालन गर्न सक्नुपर्नेमा जोड दिएका छन्।
कार्यकर्ताले नेताहरुको आपसी खिचातानी र गुट-उपगुटका कारण पार्टी सङ्गठन कमजोर हुने भन्दै राष्ट्रिय भावनाका साथ पार्टी बलियो बनाएर जनताको मन जित्न नेताहरुलाई आग्रह गरेका छन्। स्थानीय तहमा समेत नेतृत्वले काम गर्ने तौरतरिका सच्याउनुपर्नेमा कार्यकर्ताको जोड छ।

सिन्धुपाल्चोकका नेकपा कार्यकर्ता केशवलाल श्रेष्ठले राजनीतिक नेतृत्वले देश र जनताका लागि भलो हुने काम गर्नुपर्नेमा जोड दिँदै भने, 'मुलुकमा विकास हुनुपर्छ, महँगी नियन्त्रण हुनुपर्छ, दुःख-कष्टमा पिल्सिएका जनताको घाउमा मलम लगाउन सक्नुपर्छ, यस्ता कुरामा नेतृत्वले ध्यान दिनुपर्छ।'
उनले अहिले नेता र सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै राजनीतिक दल नै तँछाड-मछाडमा लागेको बताए। राष्ट्रियहित र साझा विषयमा सबै पार्टी एक हुनुपर्नेमा उनको जोड थियो।
नेकपाका शुभेच्छुक काठमाडौंका ७० वर्षीय वृद्ध अच्युतराम सत्यालले पछिल्लो समयमा परिवर्तनको लहर देखिन सुरु गरेको बताउँदै पार्टी एकीकरण टुङ्ग्याएर जनताले थाहा पाउनेगरी विकास र समृद्धिमा जान नेकपाका नेतालाई सुझाव दिए। नेतासँगै कार्यकर्ताको मानसिकता परम्परागतबाट माथि उठ्न नसकेको जिकिर गर्दै उनले हिजोको सोच बदल्न सुझाव दिए।

नेकपाको हुम्लाका सदस्य भुवनबहादुर शाही दुई तिहाइको सरकार हुँदा जुन अपेक्षाअनुसार काम गर्न सक्थ्यो, त्यसरी जान नसकेको उल्लेख गर्दै जबसम्म रोजगारीका लागि नेपाली युवा विदेश जाने परम्परा रोकिँदैन तबसम्म सरकारले राम्रो काम गरेको नठहरिने तर्क प्रस्तुत गरे।
हुम्लाकै शुभेच्छुक पार्वती थापाले जनताका दैनिक जीवनमा आइपर्ने समस्या ज्यूँ का त्यूँ रहेको गुनासो गरिन्।
चियापान समारोहमा राजनीतिक नेताहरुले साझा विषयमा अझै सबै दलहरुको एकता आवश्यक रहेकामा जोड दिँदै चाडपर्वमा हुने यस्ता कार्यक्रमले आपसी सद्भाव कायम गर्न र राजनीतिक नेताहरुबीच नजिक हुने अवसर मिल्ने बताएका थिए।

चियापान समारोहमा देशैभरबाट नेकपाका नेता तथा कार्यकर्ताको सहभागिता थियो। सो क्रममा विभिन्न राजनीतिक दलहरुलेसमेत सहभागिता जनाएका थिए। मध्याह्न १२ बजेदेखि सुरु भएको चियापान समारोह साँझ ५ बजे सकिएको थियो।
चियापानका अन्य तस्बिरहरुः






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।