काठमाडौं- भारतीय दुई चर्चित क्रिकेटरले खेल क्षेत्रपछि अब फिल्ममा पनि डेब्यू गर्ने भएका छन्।
क्रिकेटबाट हरभजन सिंह र इरफान पठान फिल्मतर्फ मोडिन लागेका हुन्। सिंहले सन् १९९८ मा टेस्ट र एकदिवशीय खेलमा डेब्यु गरेका थिए।
पठानले सन् २००३ मा टेस्ट र सन् २००४ मा एकदिवशीय खेलमा डेब्यु गरेका थिए। हरभजनले १ सय ३ टेस्ट म्याचमा ४१७ विकेट तथा २ सय ३६ एकदिवशीय खेलमा २ सय ६९ विकेट आफ्नो नाममा लेखाउन सफल भएका थिए। २८ वटा टी-२० खेलमा २५ विकेट लिन सफल हरभजनले अब फिल्ममा डेब्यू गर्न लागेका बिबिसी हिन्दीले लेखेको छ।
यी दुवै क्रिकेट हस्तिहरु बलिवड नभई तमिल फिल्मबाट आफ्नो करियरको सुरुवात गर्दैछन्।
इरफान पठान फिल्म ‘विक्रम ५८’ मा मूख्य भूमिकामा देखिनेछन् भने हरभजन सिंह फिल्म ‘डिक्किलुना’मा देखिनेछन्। अजय नानामुथुद्धारा निर्देशन हुने ‘विक्रम ५८’मा इरफान तमिलका चर्चित अभिनेता चियान विक्रमसँगै देखिनेछन्। हालसम्म 'विक्रम ५८' राखिएको उक्त फिल्मको नाम परिर्वतन हुनसक्ने निर्माण पक्षले जनाएको छ।
यस फिल्ममा चर्चित संगीतकार ए आर रहमानले संगीत गर्दैछन्। हरभजनले अभिनय गर्ने भनिएको 'डिक्किलुना'लाई कार्तिक योगीले निर्देशन गर्दैछन्।
दुवै खेलाडीले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो फोटो सेयर गर्दै फिल्ममा डेब्यू गर्न लागेको जानकारी गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।