‘नो भोट’को अधिकार के हो भन्ने कुराको अर्थ नै नखुलाई र नबुझाई सोझै प्रगतिशीलहरुलाई बदनाम गराउन जबरजस्ती बुनिएको कथामा बनेको सिनेमा रहेछ-‘छ माया छपक्कै’। यसैले सिनेमाले व्यावसायिकता होइन, राजनीतिक पक्षपोषण गरेको छ भन्नेमा म चाहिँ अस्पष्ट छैन।’
सोमबार फिल्म ‘छ माया छपक्कै’ हेरेपछि संसदीय पत्रकार मञ्च प्रदेश नम्बर १ का अध्यक्ष गणेश लम्सालले आफ्नो फेसबुक वालमा गरेको टिप्पणी हो यो।
दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माणमा दीपेन्द्र लामाले निर्देशन गरेको यस फिल्मले अहिले हलमा उत्साहजनक व्यापार गरिरहेको छ। समीक्षा भने मिश्रित आइरहेका बेला फिल्मको पटकथालाई लिएर पत्रकार लम्सालजस्तै कतिपयले यो फिल्मलाई ‘कम्युनिस्ट विरोधी’ फिल्म भनेर टिप्पणी गरिरहेका छन्।
फिल्मको केन्द्रमा कामरेड नै छन्। दीपकराज गिरी आफैंले तयार पारेको पटकथामा उनी कम्युनिस्ट कार्यकर्ताको भूमिकामा छन् भने उनका बुबा बफादार कम्युनिस्ट नेता। गाउँमा हुनेको पानीको अभावमाथि हुने दलगत राजनीतिको कथालाई निर्देशकले फिल्ममा देखाउन खोजेका छन्।
फिल्ममा कम्युनिस्ट नेता र कार्यकर्तालाई सजिलै पार्टी परिवर्तन गर्न तयार हुने, चन्दा आतंक गर्ने, चुनावमा विकासको लोभ देखाउने तर व्यवहारमा लागू नगर्ने, बाहिर नास्तिक व्यवहार गरे पनि घरमा धर्मकर्म मान्न तयार हुने ढोंगी चरित्रका रुपमा प्रस्तुत गरिएको छ। यद्यपि लोकतान्त्रिक विचारका पक्षधरका नेतामा भने त्यस्तो खास प्रहार छैन।
अहिले यही कारण फिल्मलाई कम्युनिस्ट विरोधी फिल्मको आरोप बढ्न थालेपछि फिल्मका निर्माता, पटकथाकार एवम् प्रमुख कलाकार दीपकराज गिरी फेसबुकमा स्पष्टीकरण दिन बाध्य भएका छन्।
उनले कम्युनिस्ट विरोधी आरोपलाई हाँस्यास्पद आरोपको संज्ञा दिएका छन्। ‘चलचित्र ‘छ माया छपक्कै’ हेरेपछि केही साथीहरूले यसलाई पनि राजनीतिक चश्माले हेरेर विश्लेषण गरेको पाएँ। केही साथीले यो त कम्युनिस्ट विरोधी चलचित्र पो रहेछ भनेर आरोप लगाउँदै आफ्नो फैसबुक वाल सजाएको पाएँ। अस्ति अर्को एक साथीले कांग्रेसलाई त पूरै माइनस गर्नुभएछ त दीपकजी रे। अनि हिजो मात्रै अर्को एकजनाले लेख्नुभयो- ‘तपाई त ज्ञानेन्द्र शाहीहरूको लाइनमा पो हो कि क्या हो रे। कति हास्नु?’
उनको स्टाटसको आशय के छ भने हरेक कुरालाई राजनीतिक चश्माले नहेरौँ। उनले फिल्ममार्फत राजनीतिक कार्यकर्ताको झोले नबनौँ भन्ने सन्देशमात्रै छर्न खोजेको दाबी गरेका छन्। ‘म पनि एउटा दलसँग आस्थाको हिसाबले नजिक छु, तर त्यो निर्वाचनमा मात्रै प्रकट हुन्छ, मात्रै निर्वाचनमा,’ उनले थप लेखेका छन्, ‘त्यो मेरो विचारलाई मैले कहिल्यै पनि आफ्नो कर्ममा प्रतिबिम्बित हुन दिएको छैन र भविष्यमा पनि दिन्नँ। चलचित्रको सन्देश पार्टीले जे निर्णय गरे पनि होमा हो नमिलाऔँ, गलत कुराको विरोध गरौँ, झोले नबनौँ, जनताको पीडालाई केन्द्रबिन्दूमा राखेर काम गरौँ भन्ने नै हो। यसलाइ अन्यथा नबुझ्न आग्रह गर्दछु।’
उनले आफ्नो पृष्ठभूमी एक दलीय वा कुनै व्यक्तिले शासन गर्नुपर्छ भन्ने लाइनमा नरहेको जनाउँदै आग्रह गरेका छन्, ‘त्यसैले गलत बुझाइलाई मनबाट खारेज गरिदिनुहुन हार्दिक आग्रह गर्दछु।’
दिपकराज गिरीको स्टाटसः
फिल्मलाई ‘कम्युनिस्ट विरोधी’ आरोप लाग्न थालेपछि यस विषयमा नेपाल लाइभले फिल्म समीक्षक एवम् निर्देशक मनोज पण्डितसँग जिज्ञासा राख्दा उनले फिल्ममा कथाको कमजोर प्रस्तुति भइदिँदा यस्तो आरोप खेप्नुपरेको बताए।
‘संसारमा कसैको पनि विरोधी हुन पाइन्छ। कम्युनिस्ट विरोधी हुँदैमा या कसैको पक्ष नलिँदैमा कोही गलत हुने भन्ने हुँदैन,’ उनले भने, ‘यो पक्ष/विपक्षको कुरै होइन। प्रश्न के हो भने तिमीले जुन विषयमाथि जुन शिल्पले फिल्मको कथा भन्न खोजिरहेका छौँ, त्यसलाई राम्रोसँग भन्न सक्यौँ कि सकेनौँ भन्ने हो। एउटा विषयवस्तु उठाएर त्यसलाई अलपत्र छोड्दा चाहिँ कथाभन्दा पनि बढी ध्यानाकर्षण, अरु विषयतिर भएको अवस्था हो। कथा यदि शक्तिशाली भइदिएको भए यस्तो राजनीतिक आरोप-प्रत्यारोप हुने नै थिएन। समस्या कथामा छ, राजनीतिमा होइन। कथाको कमजोर प्रस्तुतिकरणको उपज हो यो आरोप।’
उनले खास बहस चाहिँ यो फिल्मले उठाएको 'नो भोट'को अवधारणामाथि हुनपर्ने तर्क गरे। ‘फिल्मको बहस कम्युनिस्ट या कांग्रेस कसको विपक्षमा छ भन्ने दृष्टिकोणमा भन्दा पनि ‘नो भोट’ जस्तो अग्रगामी सोचको अवधारणामाथि भएको भए गज्जब हुन्थ्यो,’ उनले भने, ‘तर, त्यस्तो हुन सकेन। यसमा दोष फिल्मको कमजोर प्रस्तुतिलाइ नै जान्छ। यदि ‘नो भोट’को अवधारणालाई राम्रोसँग स्थापित गर्न सकेको भए यो फिल्म साँच्चिकै नेपाली फिल्म क्षेत्रका लागि वरदान सावित हुन्थ्यो तर यस्तो गम्भीर विषयमाथि गोलमोटल प्रस्तुति हुँदा अहिले बहस अन्यत्र मोडियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।