काठमाडौं- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७ सय १ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदैछ।
गण्डकी प्रदेशसभा सदस्यअन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडिगाढ गाउँपालिका-२ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि ती स्थान रिक्त भएका हुन्। उपनिर्वाचनमा जिल्लाको क्षेत्र नं २ को प्रदेशसभा ‘ख’बाट ३६ हजार ९ सय २६ र बडिगाड गाउँपालिका-२ का १ हजार ७ सय ७५ गरी जम्मा ३८ हजार ७ सय १ मतदाता उपनिर्वाचनमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी विकास पौडेलले बताए। यसअघि प्रदेशसभा (ख) मा ३३ हजार २ सय ४० मतदाता सहभागी भएका थिए।
उपनिर्वाचनमा भाग लिने दलले निर्वाचन आयोगमा दल दर्ता गरिसकेपछि बागलुङमा चुनावी सरगर्मी बढ्न थालेको छ। ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका रहेको बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा ४२ मतदानस्थल रहनेछन् भने बडिगाड गाउँपालिका-२ मा दुई मतदानस्थल रहनेछन्।
गण्डकी प्रदेशसभा सदस्यअन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका (राजमो) टेकबहादुर घर्तीको २०७५ सालको मङ्सिर २६ गते निधन भएको थियो। राजमोबाट जिल्ला नेता घर्तीले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को समेत समर्थनमा बाम गठबन्धनका साझा उम्मेदवार बनेर चुनाव जितेका थिए। जन्डिसबाट पीडित प्रदेशसभा सदस्य घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो।
रिक्त रहेको दुई पदमा उपनिर्वाचन हुने भएपछि यस क्षेत्रमा क्रियाशील नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र राजमोका नेताले पार्टीका जिल्ला र केन्द्रीय स्तरका नेतासमक्ष आफ्नो उम्मेदवारी आकाङ्क्षा प्रस्तुत गर्न थालेका छन्।
यसअघि प्रदेशसभामा बाम गठबन्धनबाट विजयी घर्तीकी धर्मपत्नी सुनमाया घर्तीलाई मुख्य सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ। यद्यपि सुनमाया यसै वर्ष मात्र स्थायी शिक्षकमा नाम निकालेर पारिवारिक जीवनलाई लयमा लैजाने बेलामा पुनः श्रीमानकै उत्तराधिकारीका रुपमा राजनीतिक मैदानमा आउने सम्भावना कमजोर देखिन्छ। सुनमायाले निर्णय गर्न नसकेको अवस्थामा राजमोबाट अन्य उम्मेदवार मैदानमा आउनसक्ने सम्भावना छ। विगतको बाम गठबन्धन सहकार्यले निरन्तरताको विषयमा पनि चर्चा-परिचर्चा र अनेक अनुमान सुरु भएको छ।
नेपाली कांग्रेसले भने ४ जना स्थानीय नेताको नाम केन्द्रमा सिफारिस गरेर पठाइसकेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार रिक्त रहेको स्थानहरुको उपनिर्वाचनमा चार लाख ५४ हजार १ सय १४ मतदाता रहेको जनाएको छ। जसमध्ये २ लाख ३३ हजार ४ सय २ महिला र २ लाख २० हजार ७ सय १० जना पुरुष छन्। मङ्सिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाको ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष ४३ गरी कूल ५२ पदमा निर्वाचन हुँदैछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।