काठमाडौं- अन्तर व्यवस्थापिका संघ (आइपियू)को १४१औं सम्मेलनमा सहभागी हुन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वमा संघीय संसद्को प्रतिनिधिमण्डल सर्वियाको बेलग्रेडतर्फ प्रस्थान गरेको छ।
अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्य शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् भने उनी आइतबार बेलुका मात्रै त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज सहभागी छन्। त्यसैगरी, संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल पनि टोलीसँगै सर्विया प्रस्थान गरेका छन्।
सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले 'अन्तर्राष्ट्रिय कानुनको सबलीकरण : संसदीय भूमिका र संयन्त्र तथा क्षेत्रीय सहयोगमा योगदान' विषयक बहसमा नेपालको धारणा प्रस्तुत गर्नेछन्।
त्यसैगरी, प्रजातन्त्र र मानव अधिकारसम्बन्धी समितिको बैठकमा '२०३० सम्ममा विश्वव्यापी स्वास्थ्य उपलब्धि हासिल गर्ने : स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न संसद्को भूमिका' विषयक बहसमा समेत नेपालको प्रतिनिधिमण्डलको सहभागीता रहनेछ। उक्त कार्यक्रममा शान्ति र अन्तर्राष्ट्रिय सुरक्षा, स्थायी विकास, अर्थ तथा वाणिज्यसम्बन्धी संयुक्त राष्ट्र संघीय समितिहरुको प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम रहेको छ।
महिला सांसद सदस्यहरुको १३ अक्टोबरमा हुने बैठकमा प्रतिनिधिसभा सदस्य इन्दुकुमारी शर्माले भाग लिनेछिन् भने अक्टोबर १४ मा हुने युवा सांसद सदस्यहरुको बैठकमा नेपालको तर्फबाट राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले भाग लिनेछन्।
साथै, संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले संसद्का महासचिवहरुको संगठनको बैठकमा भाग लिने कार्यक्रमसमेत तय भएको छ।
नेपाललगायत १ सय ७१ राष्ट्रका संसद् र अन्य ११ एसोसियट सदस्य रहेको आइपियूको १४१ औं सम्मेलन अक्टोबर १३ देखि १७ सम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।