छ माया छपक्कै : परिष्कार होइन, उस्तै शैलीको पुनरावृत्ति [फिल्म समीक्षा]

अनिल यादव | २०७६ असोज २६ आइतबार | Sunday, October 13, 2019 २०:१६:०० मा प्रकाशित

यदि फिल्मलाई हामी कथाको ‘भिज्युअल न्यारेसन’ अर्थात् दृश्यभाषाको बलियो माध्यम मान्छौ भने अहिले हलमा रिलिज भइरहेको ‘छ माया छपक्कै’ कुनै पनि दृष्टिबाट अब्बल फिल्म हुन सक्दैन।

यदि हामी फिल्म सुन्न होइन, हेर्न रुचाउँछौं, फिल्ममा कथा र उपकथाको स्थापना संवादमा भन्दा दृश्यमा खोज्छौ भने ‘छ माया छपक्कै’ हाम्रो रोजाई हुन सक्दैन। 

दुई घन्टा २५ मिनेट लामो यो फिल्मलाई हामीले आँखा बन्द गरेर अडियोमा मात्रै सुनिरह्यौ भने पनि यसले भन्न खोजेको कथा र दिन खोजेको सन्देश सहजै बुझिन्छ। 

दीपकराज गिरीको पटकथामा तयार हुने हरेक फिल्ममा देखिने एउटा प्रमुख समस्या के हो भने त्यहाँ उनी बढी नै हाबी भइदिन्छन्, निर्देशक लगभग ओझेलमा पर्छन्। त्यहाँ उनले लेख्ने अनुप्रास मिलेका संवाद यसरी उपस्थित हुन्छन् कि निर्देशकले आफ्नो सिर्जनशीलता प्रस्तुत गर्ने ठाउँ नै पाउँदैन। 

दीपकको पटकथामा दीपेन्द्र लामाद्वारा निर्देशित ‘छ माया छपक्कै’ यसकै पछिल्लो उदाहरण हो। फिल्ममा पानीको समस्याबाट ग्रसित एउटा 'काकाकुल गाउँ'को कथा उठान गरिएको छ तर त्यसको सफल उपचार गर्न निर्देशक असफल देखिन्छन्। कारण, दीपकको अनुप्रास हाबी भएका संवादले लामाको निर्देशकीय जिम्मेवारी बिर्साएको छ। 

कथा भनेको त परिस्थितिहरूको विकासको परिणति होइन र? तर फिल्ममा दर्शकलाई परिस्थितिले होइन, पात्रबाट बोलिने संवादले हसाउँछ। अनि, दर्शकले सहजै ठम्याउँछन्, ‘यो त हामीलाई हँसाउने जबर्जस्त प्रयास हो।’ 

एकछिन कथावस्तुकै चर्चा गरौं। फिल्म सुरु हुनुअघि निर्माण युनिटको दाबी देखिन्छ– यो फिल्म कन्चनपुर जिल्लास्थित गोदावरी गाविसको सत्य घटनामा आधारित कथा हो, पात्रहरु चाहिँ काल्पनिक हुन्। 

फिल्मअनुसार ०४५ सालमा भुईंचालो गएपछि घडेरी गाउँमा पानीको मुहान सुकेको छ, गाउँ पुरै काकाकुल बनेको छ। कामरेड बिपी पौडेल (दीपकराज गिरी) बाबु (प्रकाश घिमिरे) को चुनाव जितेर गाउँमा पानी ल्याउने सपना पूरा गर्ने लक्ष्यमा छन्। सशस्त्र द्वन्द्वमा समेत होमिएका बाबुकै पथमा लागेर उनी प्रगतिशील जनवादी पार्टीमार्फत् कम्यूनिस्ट राजनीतिमा होमिएका छन्। 

लोकतान्त्रिक पार्टीको बाहुल्यता रहेको छिमेकी गाउँ टोड्केमा पानी प्रशस्तै छ तर कम्यनिस्ट हाबी रहेको घडेरी गाउँलाई पानी दिन टोड्केका विपक्षी नेता तयार छैनन्। 

यही राजनीतिक यात्राकै क्रममा फरक विचारका कारण ‘राजनीतिक  दुश्मन’ ठानिएका टोड्कै गाउँकै नेताको छोरी जल (केकी अधिकारी)सँग बिपीको प्रेम अंकुराउँछ। फरकफरक विचार बोक्ने पार्टीका कट्टर समर्थकका सन्तानबीच देखिने प्रेमसँगै विकास हुने घटनाक्रम नै यो फिल्मको कथा हो। 

एकैपटक धेरै विषय उठाउन खोज्दा निर्देशक लामा मूल कथालाई न्याय गर्न चुकेका छन्। फिल्मभित्र पानीको समस्या छ, पानीमाथि हुने राजनीति छ, राजनीति घुसेको प्रेम छ तर विडम्बना सबै विषयको प्रस्तुति सतही मात्र छ। यसले दर्शकको संवेदना छुन सक्दैन। 

सहायक पात्रहरु प्रवीण (जितु नेपाल) र पूजा (सुपुष्पा भट्ट)बीचको प्रेम दर्शकलाई महसुस हुन नपाउँदै टुंगिन्छ। प्रवीण–पूजाको सम्बन्ध, बिपी र जलको प्रेमलगायत अन्य विषयतिर बढी रुमल्लिँदा फिल्ममा देखाइएको पानीको मूल समस्या नै लामो समय ओझेलमा पर्छ। 

फिल्ममा जर्बजस्ती धेरै पात्र र उपकथाहरु थोपरिँदा मूल कथामाथि नै अन्याय भएको छ। फिल्मको सुरुवातमै मूल पात्रले न्यारेसनमार्फत् गाउँमा पानीको ठूलो समस्या रहेको जनाउ दिन्छन्। तर फिल्म सक्किँदासम्म दर्शकले त्यो समस्या दृश्यमा महसुस गर्दैनन्। 

निर्देशकले घडेरी गाउँका बासिन्दाले पानीका कारण पाएको दुःख, पानीका लागि गर्ने संघर्ष दृश्यमा खर्चिएका छैनन्, संवादकै आडमा दर्शकलाई विश्वास दिलाउन खोजेका छन्। 

अहिलेको समयमा कुनै एउटा गाउँको कुनै एउटा नेताले छिमेकी गाउँलाई किन पानी दिन तयार हुँदैन? अनि, कुनै एउटा नेताले पानी दिन्न भन्दैमा कसरी पानी नपाउने अवस्था सिर्जना हुन्छ? त्यत्रो सशस्त्र द्वन्द्वको सामना गरेर आएका कार्यकर्ता कसरी त्यो अवस्था सहेर बस्न सक्छन्?
 
पानीमाथिको राजनीति देखाउन खोज्दै गर्दा निर्देशकले फिल्ममा यी र यस्ता यावत् प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिन आवश्यक ठानेका छैनन्। सतही प्रस्तुतिमै रमाएका छन्। 

शक्तिमा रहेकाहरुको कुरा सहजै पत्याउने हामी नेपालीको विश्वास-प्रणालीकै फाइदा फिल्म निर्देशकले लिन खोजेका छन्। नत्र कतिन्जेल संवादकै भरमा कथालाई पत्याउने? ‘छ माया छपक्कै’कै कुरा गरौँ न। किन दर्शकले सजिलै गाउँमा पानीको हाहाकार छ, ठूलो दुःख छ भनेर पत्याउने? ती दुःख र पीडालाई पर्दामा उतार्नु पर्दैन? फिल्म हो भने त्यसका लागि पात्रले संघर्ष पनि गर्नुपर्ने होला। त्यो संघर्ष दर्शकलाई महसुस हुने गरी देखाउनुपर्दैन? फिल्म हेरेपछि लाग्छ, निर्देशकलाई यी प्रश्नहरु गर्न आवश्यक छ। 

मूल पात्रको लक्ष्य गाउँमा बाबुको पानी ल्याउने सपना पूरा गर्नु छ तर त्यसका लागि फिल्ममा देखाइने उनको संघर्ष पर्याप्त छैन। फिल्ममा जसरी बिपी र जलबीच गहिरो प्रेम सम्बन्ध देखाइन्छ, त्यसले पनि दर्शकको मनमा घर बनाउन सक्दैन। कारण, त्यसमा पनि दृश्यमा भन्दा ज्यादा संवादकै साहारा लिइएको छ।    

बिपीको साथीका रुपमा देखिएका छन्, गोली कान्छा (केदार घिमिरे), जसलाई फिल्ममा नराखेपनि निर्देशकले भन्न खोजेको कथा अपूरो हुँदैन। तर, फिल्ममा मूल पात्र कमजोर भइदिँदा यिनै सहायक पात्र हाबी भएका छन्। त्यसैले दर्शकको सहानुभुति पनि मूलपात्रमा भन्दा ज्यादा यही गोली कान्छाको पात्रमाथि जाग्छ। 

उदाहरणका लागि बिपीले छिमेकी गाउँमा केटी माग्न जाँदा गोली कान्छाले बग्रेल्ती पानी झरिरहेको धारामा नुहाउने दृश्यलाई लिन सकिन्छ। त्यतिबेला बिपीले केटी पाउँछ कि पाउँदैन भन्नेमा भन्दा दर्शकको बढी चिन्ता गोली कान्छाले राम्रोसँग नुहाउन पाउँछ कि पाउँदैन भन्नेमा हुन्छ। यो निर्देशकले मूल पात्रको लक्ष्य र संघर्षलाई बलियोसँग स्थापना गर्न नसक्दा निम्तिएको समस्या हो। यसको फलस्वरुपः यो पूरा फिल्म केदारको अभिनय र उनको संवादमार्फत् सिर्जना हुने हास्यका भरमा ‘होल्ड’ भएको छ। 

यो फिल्मले कम्युनिस्ट पक्षधरलाई नरिझाउन सक्छ। कारण, कम्युनिस्टलाई पार्टी सजिलै परिवर्तन गर्ने, चन्दाआतंक गर्ने र बाहिर नास्तिक चरित्र देखाएपनि घरमा आस्तिक व्यवहार स्वीकार्ने ढोँगी चरित्रका रुपमा देखाइएको छ। वर्षौंदेखि विकासको लोभ देखाउने पनि कम्यूनिस्ट नै छन्। फिल्मले लोकतान्त्रिक पार्टीमाथि भने त्यस्तो कुनै प्रहार गरेजस्तो लाग्दैन। 

यो फिल्मको आम दर्शकलाई रिझाउने सबैभन्दा सुन्दर पक्षचाँहि ‘नो भोट’को कन्सेप्ट नै हो। घडेरी गाउँमा बिपीले र छिमेकी गाउँमा जलले अगुवाई गर्ने ‘नो भोट’को अभियानले आम दर्शकमा राम्रो सन्देश प्रवाह गर्न सक्छ। ‘नो भोट’अभियानले आफ्नो मतका कारण सरकारमा पुग्ने नेताले सधैँ विकासको आश्वासनमात्रै दिए तर व्यवहारमा लागू गरेनन् भने मतदानमा सहभागी नै नभएर जनताले उनीहरूमाथि गतिलो झापड प्रहार गर्न सक्छन् भन्ने सन्देश दिन्छ। 

फिल्ममा कम्युनिस्ट नेताको भूमिकामा प्रकाश घिमिरेको अभिनय जीवन्त लाग्छ। केकी अधिकारी पनि आफ्नो चरित्रमा स्वभाविक नै देखिएकी छन्। तर, एउटा दृश्यमा उनी र दीपकराजको क्यारेक्टरलाई सँगै देखेपछि जीतुको क्यारेक्टरले बोल्ने ‘हामीलाई चाँहि जर्बजस्ती अभिवादन, यो उमेरमा आएर वाद्यवादन’ भन्ने संवादले महिलालाई ‘कमोडिटी’ रूपमा प्रस्तुत गरेको भान हुन्छ। 

समग्रमा यो फिल्म एउटा गम्भीर विषयवस्तुमाथि गरिएको लापरबाह प्रस्तुति हो। दीपक–दीपा मार्काका फिल्म रुचाइरहेका दर्शकलाई यो भंयकर लाग्न सक्छ, व्यापार पनि भयंकर गर्न सक्छ तर नेपाली फिल्मको स्तरोन्नतिमा यसले कुनै ठूलो सघाउ पुर्‍याउँदैन। केही परिष्कार भएन, बरु उस्तै हास्य शैलीको पुनरावृत्ति भयो। अब त भन्नैपर्छ, नेपाली फिल्म पुराना हास्य सिरियलको ह्याङओभरबाट चाँडै मुक्त हुनैपर्छ। नत्र यसले नेपाली फिल्मकै विकासलाई पछि धकेल्ने पक्का छ।