राजविराज- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा एक महिला नेतृ पक्राउ परेपछि समाजवादी पार्टी सप्तरीले उनी पार्टीको सदस्य नै नभएको दाबी गरेको छ।
प्रहरीले शुक्रबार समाजवादी पार्टीकी महिला नेतृ तथा अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी जिल्ला अध्यक्ष सुनिता साहलाई पक्राउ गरेको छ। राजविराज-६, खरसालटोलस्थित निवासबाटै पक्राउ परेकी साह सोही पार्टीबाट सञ्जालमा प्रतिनिधित्व गरिरहेकी छिन्।
पार्टीका जिल्ला अध्यक्ष केदार यादवले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रहरी हिरासतमा रहेकी साह पार्टीको सदस्य समेत नरहेको दाबी गरिएको छ। पार्टीको नाम जोडेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति पनि विज्ञप्तिमा आपत्ति जनाइएको छ। ‘चिनियाँ राष्ट्रपति सि चिनपिङको नेपाल भ्रमणको पूर्व सन्ध्यामा विरोध गर्ने आशंकामा पार्टीको नाम मुछेर साह पक्राउ परेको भनी विभिन्न सञ्चारमाध्यममा समाचार आएकोमा समाजवादी पार्टीको आपत्ति रहेको छ,’ विज्ञाप्तिमा भनिएको छ।
विज्ञाप्तिमा साहले विगत केही दिनदेखि नै पार्टी विरोधी क्रियाकलाप गर्दै आएको भन्दै पार्टी आवद्धताको पुष्टिसमेत गरिएको छ। पार्टी श्रोतका अनुसार साहको नाम प्रदेससभा सदस्यको समानुपातिक सूचीमा समेत राखिएको थियो।
.jpg)
गत बैसाख १४ गते भएको तत्कालीन संघीय समाजवादी फोरम नेपाललको प्रदेश अधिवेशनमा साहको नाम अधिवेशन प्रतिनिधिको सूचीमा समावेश छ। क्रम संख्या ५० मा उनको नाम छ।
साहले प्रदेश सदस्यका लागि खुल्लातर्फबाट उम्मेदवारी पनि दिएकी थिइन्।
.jpg)
चुनावी प्रतिस्पर्धामा पराजित भएपछि जिम्मेवारीमा नरहे पनि साह समाजवादी पार्टीको नाम चलेकी नेतृ हुन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा भदौ २३ मा भएको प्रदर्शनमा साहको नाम समेत जोडिएको छ। प्रदर्शनमा सहभागी भएको भन्दै प्रहरीको कमलपोखरी वृत्तले १० जनालाई पक्राउ गरेको थियो। सोही क्रममा साहविरुद्ध पनि अभद्र व्यहारको मुद्दा चलाइएको छ।
विवाह गर्ने बहानामा चीनमा नेपाली चेली बेचबिखन भइरहेको भन्दै महिलाको समूहले ‘चेलीबेटी बेचबिखन बन्द गर, चीनमा मानव तस्करी बन्द गर’ नारा लेखिएका ब्यानर र प्ले कार्डसहित प्रदर्शन गरेका थिए।
चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा पनि साह प्रदर्शनमा सहभागी हुनसक्ने आशंकाका बीचमा साहलाई पुरानो मुद्दामा जोड्दै पक्राउ गरिएको श्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।