काठमाडौं- नेपाली कांग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ।
कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेसागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, विभिन्न सञ्चारमाध्यमका प्रमुख, पत्रकारलगायतका विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहने उनले बताए।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उपत्यकाका तीन जिल्लाले केन्द्रीय कार्यालयमा संयुक्त रुपमा र अन्य जिल्लाहरुले सम्बन्धित पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्नेछन्।
चियापानका लागि बोलाइएका आगन्तुकलाई पार्टी सभापति शेरबहादुर देउवा सहितका पदाधिकारीले स्वागत गर्नेछन्। राज्यका सवै क्षेत्रमा उपल्लो तहमा रहेका व्यक्तिहरुलाई कांग्रेसले निमन्त्रणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।