काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा नेपाल-चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको छ।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न दुई दिवसीय राजकीय भ्रमणका लागि नेपाल आएका छन्। सो क्रममा साँझ विमानस्थलमा स्वागत गरेकी राष्ट्रपति भण्डारी चिनियाँ राष्ट्रपति सीसँग राष्ट्रपति निवास शीतल निवासमा औपचारिक भेटवार्ता गरेकी हुन्।
भेटवार्ताका क्रममा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले जानकारी दिए।
भेटवार्ताका क्रममा राष्ट्रपति सीले शीतल निवासमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गरेका छन्।
सोपश्चात् दुवै देशका प्रतिनिधिमण्डल स्तरीय वार्ता भएको छ। सो वार्तामा नेपाली पक्षबाट राष्ट्रपति भण्डारीसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर तथा चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललगायतको उपस्थिति रहेको थियो।
चिनियाँ पक्षबाट राष्ट्रपति सीसँगै विदेशमन्त्री वाङ यी, नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत सहभागी थिए।
(तस्बिर-रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।