काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक भएको बताएका छन्।
नेपाल चाइना हिमालयन फ्रेन्डसिप सोसाइटीले भ्रमणबारे शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा नेताहरुले २३ वर्षपछि हुन लागेको उच्चस्तरीय भ्रमण ऐतिहासिक हुनुको साथै यसले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।
नेकपाको संसदीय दलका उपनेता सुवास नेम्वाङले लामो समयको अन्तरालमा हुन लागेको उच्चस्तरीय भ्रमणबाट आफूहरु उत्साहित बनेको भन्दै भ्रमणले नेपालको हितमा हुने विश्वास व्यक्त गरे।
नेपाल दुई छमेकी चीन र भारतलाई जोड्ने पुल बन्न चाहेको पनि उनले स्पष्ट पारे। नेम्वाङले सरकार तथा नेकपाले देशको सार्वभौमसत्ता र सम्मानलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता पनि जनाए।
चिनियाँ राष्ट्रपति सीको ऐतिहासिक भ्रमणलाई सरकार तथा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र चीनको हितमा सदुपयोग गर्न चाहेको पनि उनको भनाइ छ।
नेता देव गुरुङले नेपालले चीनसँग लिने ऋणका बारेमा नकारात्मक टिप्पणी गर्नु आवश्यक नभएको बताए। उनले विश्वका सबै मुलुकले ऋण लिने गरेको दृष्टान्त दिँदै ऋणलाई सही ढंगले उपयोग गर्नुपर्ने धारणा राखे। उनले अनुदान हुन सकेन भने निरपेक्ष ऋण लिनै हुँदैन भन्न नहुने तर्क गरे।
चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा हुने आर्थिक सहयोगसम्बन्धी सम्झौतालाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आएका छन्। विशेष गरेर रेल सेवा विस्तार ऋणमा नभई चिनले अनुदानमा बनाइदिनुपर्ने तर्क हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।