सीको भ्रमणलाई नेपालको हितमा अधिकतम उपयोग गर्न पूर्वप्रधानमन्त्रीहरुको सुझाव

चीनियाँ राष्ट्रपति भ्रमण
नेपाल लाइभ | २०७६ असोज २३ बिहीबार | Thursday, October 10, 2019 १४:०८:०० मा प्रकाशित

काठमाडौं– पूर्वप्रधानमन्त्रीहरुले चिनियाँ राष्ट्रपति सी चिनफिङको  भ्रमणबाट नेपालले अधिकतम लाभ उठाउन सक्नुपर्ने भन्दै सोही रुपमा काम गर्न सरकारलाई सुझाव दिएका छन्।

सीको आशन्न भ्रमणबारेमा सुझाव माग्न र औपचारिक जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गरेको छलफलमा पूर्वप्रधानउनीहरुको साझा सुझाव  नेपालको अनुकुल सम्वन्धलाई अगाडी बढाउने सुझाइएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए।
छलफलमा चीनसँग भएको आर्थिक विकास र सीप, दक्षता र नेपालको विकासमा त्यहाँको पुँजीसम्म परिचाल गर्न सक्ने बारेमा स्पष्ट दृष्टि बनाएर वार्ता गर्न सुझाव दिएको खनालले बताए।

‘नेपाल चीनको असल छिमेकी देश भएको र  उसबाट आर्थिक  विकासका लागि फाइदा लिनु सक्नुपर्ने भएकाले सोही अनुरुपमा नीति र एजेण्ड सहित चीनका राष्ट्रपति समक्ष जानु पर्दछ भनेर सुझाव दिएका छौ,’  पूर्वप्रधानमन्त्री खनालले भने, ‘नेपाल र चीन पर्यटन,लगानी र अन्य क्षेत्रमा सहकार्य गर्ने योजनाहरु पनि ठोस रुपमा पेश गर्न सुझाव दिएका छौ।’

छलफलमा प्रधानमन्त्री ओलीले चीनीया राष्ट्रपति शीको भ्रमणका लागि भइरहेको तयारीको बारेमा जानकारी गराएका थिए।

छलफलमा पूर्वप्रधानमन्त्रीहरुसँगै परराष्ट्र मामलाका जानकारहरु समेत सहभागी थिए।  

छलफलमा पूर्वप्रधानमन्त्रीहरु माधव नेपालले चीनको विकास र पुँजीसँग नेपाली बजार जोड्ने र सहकार्य गर्ने विषयमा सरकारले कार्यक्रम बनाउन सुझाव दिए। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हितमा हुने गरि राष्ट्रिय योजनाको हस्ताक्षर गर्न आग्रह गरे। नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आर्थिक रुपमा चीनसँग फाइदा लिने योजनाहरुमा काम गर्न सुझाव दिए।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङको शनिबार हुन लागेको भ्रमण नजिकिँदै गर्दा सुझाव लागि पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, राजदूत एवं परराष्ट्र मामिलाका विज्ञहरुसँग छलफल गरिरहेका छन्।

बिहीबार बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवटारमा सुरु भएको छलफलमा प्रधानमन्त्री ओलीसँगैको पंक्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समेत थिए।
बैठकमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी समेत सहभागी थिए । सत्तारूढ नेकपा महासचिव विष्णु पौडेलसहित सचिवालय सदस्यहरू समेत सहभागी छन्।

विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणबारे आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने, के–के एजेन्डा रहने भनेर छलफल गर्ने चलन अनुसार ओलीले बैठक बोलाएका थिए।