दसैंलाई अहिले विभिन्न कोणबाट व्याख्या र विश्लेषण गर्न थालिएको छ। साथै यसको महत्वबारे पनि चासो र चर्चा हुँदै आएको छ। संकृतिविद्, अध्यात्म चिन्तक एवम् शिक्षासेवी डा चिन्तामणि योगी पनि दसैंलाई विभिन्न कोणबाट हेर्नुपर्ने बताउँछन्।
नेपाल लाइभसँगको कुराकानीमा योगीले दसैं आध्यात्मिक, दार्शनिक, वैज्ञानिक, सांस्कृतिक, पौराणिक, पारिवारिक, सामाजिक, प्रयोगात्मकदेखि स्वास्थ्य विज्ञानसँग जोडिने बताए।
दसैंलाई बडादसैं र विजयादशमी पनि भन्ने गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि ९ दिनसम्म साधना सम्पन्न भएर दशौं दिनमा टिका ग्रहण गरिने भएकाले दसैं भनिएको उनको तर्क छ।
वर्षमा चार वटा नवरात्र हुन्छन्। चारमध्ये चैत महिनाको नवरात्र र त्योभन्दा पनि बढी महत्वपूर्ण आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नवरात्र हो। त्यसैले पनि बडादसैं भनिएको योगी बताउँछन्।
'विजयादशमी भन्नुको कारण प्रतिकात्मक रुपमा दुर्गा शप्तशती ग्रन्थ छ, त्यसमा अनेकौं प्रकारका राक्षशी शक्ति र आसुरी शक्तिको वर्णन गरिएको छ। माता दुर्गाले उनको वध तथा सम्भार गर्नुभएको पौराणिक प्रसंग। तर, विजयादशमीलाई दार्शनिक र आध्यात्मिक तरिकाले बुझ्दा हामीभित्रै घमण्ड, रक्तबीज, धुम्रलोचन छ,’ योगी थप्छन्, ‘हामीभित्रै रहेको शुम्भ, निशुम्भ, रक्तबीज, चण्डमुण्ड आदि नकारात्मक सोचमाथि विजयनै विजयादशमी हो। नकारात्मक सोच र विचारको अन्त्यका लागि ९ दिनसम्म साधना गर्न र दशौं दिनमा त्यसमाथि विजय गर्ने दिनका रुपमा दसैंलाई लिइन्छ।’
त्यस्तै, नवरात्र, टिका, जमरा, फूलपाती, पञ्चबलिलगायत दसैंका सबै विधिमा वैज्ञानिकता छ भन्ने योगीको दावी छ। दसैंको टिकाअघि ९ दिन नै साधनाका लागि किन त? उनी भन्छन्, ‘९ अंक वैज्ञानिक रुपमा पूर्ण अंक हो। सातपछि आठ, आठपछि नौं, नौं पछि के? दश। दश भनेको एक र शून्यको जोड मात्रै हो। नौं पछि अर्को अंक छैन। नौं अंक पूर्ण अंक भएकाले वैज्ञानिक तवरमा पनि पूर्णताको साधना गरेर अर्थात् पूर्ण भएर मात्र मान्यजनले आशिर्वाद दिन्छन्। गणितिय रुपमा हेर्दा ९ एकाने ९, ९ दुना १८ हुँदै ९ नौंमा ८१ हुन्छ। १८ को अंकमा आउने एक र आठ जोड्दा नौं हुन्छ, नौं तीनमा २७ हुन्छ, २ र ७ जोड्दा नौं हुन्छ, ९ नौंमा ८१ मा ८ र १ जोड्दा पनि ९ नै हुन्छ। त्यसैले यो पूर्ण अंक हो। यसर्थ पनि साहित्यमा नवरस हुन्छ। दुर्गालाई नवदुर्गा भनिन्छ। नवरात्र भनिन्छ। रत्नहरुमा नवरत्न भनिन्छ।’
जमरा राख्ने, रातो टिका लगाउने, पञ्चबली दिने, आशीर्वादलगायत विधि र पद्धतिको पनि सांकेतिक अर्थ भएको योगीको तर्क छ।
जमरालाई 'ग्रीन जुस' भनिन्छ। दसैं भनेको शारिरिक, मानसिक, बौद्धिक, भावनात्मक हरेक कुरामा आफूलाई शक्तियुक्त बनाउनु हो। हरेक तरिकाले आफ्ना कमीकमजोरी हटाएर पूर्ण-ताजकीकरण गर्नु हो।
वर्षभर अनेक ढङ्गले हाम्रो स्वास्थ्यमा समस्या आउँछन्। त्यसैले वर्षमा एकपटक जमराको जुस खाने भनिएको हो। जमराको जुसलाई आयुर्वेद विज्ञानमा 'ग्रीन ब्लड' भनिन्छ।
आशिर्वाद दिने बेला हाम्रा पूर्खाले स्वास्थ्य राम्रो होस्, प्रगति होस्, शान्ति होस्, सन्तुष्टि होस्, सबैभन्दा महत्वपूर्ण दीर्घायुभवः निरोगीभवः भन्दै आए, तर हामीले आफ्नो संस्कृतिलाई सही मानेमा वैज्ञानिक, दार्शनिक, अध्यात्मिक, सामाजिक र व्यवहारिक पक्षबाट केलाएर बुझेका छैनौं। यसलाई बुझ्नुपर्ने योगीको सुझाव छ।
डा योगी दसैंमा दिने आशिर्वादलाई पनि विज्ञानसँगै जोडेर हेर्छन्। आशिर्वाद अहिलेको भाषामा 'औडा थेरापी' भएको उनको तर्क छ। हरेकमा भएको शक्तिलाई अर्कोमा स्थान्तरण गर्न सकिन्छ। नौं दिनसम्म गरेको साधनाबाट पवित्रता, पूर्णता, तेज र ओज प्राप्त हुन्छ। अत्यन्तै प्रेमपूर्वक कसैको टाउकोमा हात राख्यो भने दिएको आशिर्वाद लाग्छ।
अहिले आमाहरुले बच्चालाई छातीमा राखेर गीत गाउँदै थम्थम्यायो भने दिमागले बढी काम गर्ने, हर्मोन बढाउने, आत्मविश्वास बढाउने अनुसन्धानबाट पनि खुलेको योगी बताउँछन्। त्यसैले मान्यजनले श्रद्धाले कसैको टाउकोमा हात राख्यो भने राम्रो हुने र यसलाई आशिर्वाद विज्ञानकै रुपमा लिइने उनको तर्क छ।
दसैं भनेको विजय गर्ने हो, आफैंमाथि। पञ्चबलीको पनि सांकेतिक अर्थ भएको योगीको भनाइ छ। मान्छेका मुलतः पाँच प्रकारका शत्रु छन्। 'तीमध्ये काम, क्रोध, लोभ, मोह र मध। यी पाँच तत्व शरीरमा थाहै नपाई आउँछन्। त्यसलाई समाप्त गर्न पञ्चबली देऊ, शत्रुलाई चिन भन्न थालियो। शत्रुलाई चिनाउने बेला काम भनेको के? भनेर प्रतिकात्मक रुपमा चिनाउन थालियो। पहिले प्रतिकवादी शिक्षा थियो। प्रतिकात्मक शिक्षा अहिले पनि छ। ‘ए’ फर ‘एप्पल’, ‘बी’ फर ‘बल’ भनिन्छ, बच्चाले पहिले एप्पललाई बुझ्छ अनि ‘ए’ बुझ्छ,' उनले भने।
त्यस्तै, कामलाई हाँससँग, क्रोध भनेको भेडा, बोका जस्तो हुन्छ भनियो। लोभलाई कुखुरा, मोहलाई परेवा र मधलाई राँगो जस्तो हुन्छ भनेर प्रतिकात्मक रुपमा बुझाउन खोजियो तर त्यसलाई लोभी र स्वार्थी मान्छेले बिगारेको उनको निष्कर्ष छ। पञ्चबली भनेको पञ्च दोषको बली देऊ भनेकोमा त्यसको सट्टा पशुपक्षीको बली दिन थालियो। त्यस्तो नगर्न पनि योगीले आग्रह गरेका छन्।
दसैंमा अक्षताको रातो टिका लागाइन्छ। अक्षताको अर्थ क्षय र नास हुँदैन भन्ने हुन्छ। फूलपातीमा नौं प्रकारका विभिन्न अन्न, फूल, पात, बिरुवा भित्र्याइन्छ। त्यससँगै धानको बाला पनि भित्र्याउने गरिन्छ। त्यसको अर्थ दसैं कृषि उत्पादन र प्रकृति विज्ञानसँग पनि जोडिन्छ।
रातो रङलाई हिन्दु संस्कृतिले विशेष सम्मान गरेको छ। यो सौन्दर्य, वीरता, प्रेम, विजयसँग पनि जोडिने योगीको विश्लेषण छ।
(डा योगी संस्कृतिविद्, अध्यात्म चिन्तक एवम् शिक्षासेवी हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।