काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभ-हानीको हिसाबकिताब नहुने बताएका छन्।
विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा बिहीबार अपराह्न कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार-सरकार र जनता-जनता बीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने स्पष्ट गरे।
'उच्चस्तरीय भेटघाटमा लाभ-हानीको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिनेछु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ,' उनले भने, 'दुई देशबीचका प्रमुखहरुको भेटघाटमा भौतिक अपेक्षा तपसीलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै, तर सपिङ लिस्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ।'
प्रधानमन्त्रीले चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जानकारी दिँदै दुई देशबीच मित्रता अभिवृद्धि भएपछि यी विषयमा पनि स्वाभाविक वृद्धि हुने विश्वास व्यक्त गरे। 'महामहिम राष्ट्रपति सी चिन पिङको नेपाल भ्रमण सफल हुन्छ,' उनले भने। चिनियाँ राष्ट्रपति सीले निकट भविष्यमा नै नेपालको औपचारिक भ्रमण गर्ने तयारी छ।
एक प्रश्नको जवाफमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दुई पार्टीबीच आपसी सहकार्य भएकै आधारमा नेपाल ‘सी विचारधारा’मा गयो भन्नु आफूहरुलाई बदनाम गर्ने प्रयास हो भन्दै बुद्धिजीवी भइकन अबौद्धिक तर्क गर्नेप्रति आफूलाई दया लाग्ने बताए। 'हाम्रा आवश्यकताअनुसार हामी अगाडि बढ्छौँ, सी पथमा नेपाल गयो भन्नु सङ्कीर्णता हो, विचारशून्यता हो, असहिष्णुता हो,' उनले भने।
भारतीय स्वतन्त्रता सङ्ग्राममा सुवासचन्द्र बोसको क्रान्तिकारी विचार र महात्मा गान्धीको शान्तिपूर्ण धार दुवै ठीक रहेको प्रसङ्ग उल्लेख गर्दैै उनले सबैका विचार अध्ययन गरेर नेपालको परिस्थिति, आवश्यकता एवं परिवेशअनुसार लागु गरिने स्पष्ट पारे।

नेपाल अन्तर्राष्ट्रिय जगतमा सुनिन र देखिन थालेको हो त? भन्ने जिज्ञासाका सन्दर्भमा प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय हित, न्यायोचितता र अन्तर्राष्ट्रिय उत्तरदायित्वका साथ अन्तर्राष्ट्रिय सम्बन्धमा ध्यान दिएको जनाए। नेपाल स्वाधीन मुलुकका रुपमा विगतदेखि रहे पनि त्यस स्वाधीनतालाई खुम्च्याएर र चाउर्याएर आफैँ प्रयोग नगर्ने स्थितिबाट अहिले बाहिर निस्किएको जिकिर गरे।
'नेपालले आन्तरिक र बाह्य रुपमा स्वतन्त्र ढंगबाट आफ्नो स्वाधीनताको अभ्यास गर्न थाल्यो, गरिरहेको छ। त्यसकारण नेपाल देखिन र सुनिन थालेको छ। हामी कतै झुक्दैनौँ। कतै ढल्कँदैनौँ। नेपाललाई भूपरिवेष्ठितबाट भू-जडित, जल-जडित, हवाई-जडित र सञ्चार-जडित बनाउन लागेका छौँ,' प्रधानमन्त्री ओलीले भने, 'नेपालले छिमेक सम्बन्ध सुमधुर, सुढृढ, विश्वसनीय र उचाइमा पुगेको तथा अन्तर्राष्ट्रिय सम्बन्ध पनि माथि उठेको छ। नेपाल अन्तर्राष्ट्रिय मञ्चमा सुनिन थालेको वास्तविक हो।'
नेपालको राष्ट्रिय छवि वृद्धि भएकामा ढुक्क हुँदै प्रधानमन्त्री ओलीले भने, 'नेपाल नेपालको रुपमा आफ्नो स्वतन्त्र आधारभूत नीतिमा उभिन्छ। हामी क्षणिक लाभमा बहकिएर हिँड्दैनौँ। राष्ट्रिय हित, चरित्र र स्वाधीनताका लागि काम गर्छाैँ। हाम्रो सार्वभौमिकता, विश्वबन्धुत्व, शान्तिको पक्षधरता, न्यायपूर्ण विश्वव्यवस्थाका नीति, संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्न आन्दोलन र पञ्चशीलका सिद्धान्तमा हामी अडिग रहन्छौँ।'
उनले गत वर्षको राष्ट्र सङ्घको महासभामा आफूले गरेको सम्बोधनमा उठाइएका विषयहरुलाई राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटेरेसले समापनका अवसरमा महत्व दिई स्मरण गर्नु एवं उल्लेख गर्नुलाई पनि महत्वपूर्ण मान्नुपर्ने उनको तर्क थियो।

प्रधानमन्त्री ओलीले चाडपर्वका समयमा नयाँ नोट सटही र बजारलार्ई सरलीकृत गर्न सरकारको तयारीबारेको जिज्ञासामा प्रधानमन्त्री ओलीले अघिपछिभन्दा यस बेला व्यापार र भीडभाडजस्ता चाडको स्वभाव र चाडले उत्पन्न गरेका परिस्थति हुने भए पनि यस्तो अवस्थामा जनतालाई बढीभन्दा बढी सुविधा कसरी दिन सकिन्छ भन्नेतर्फ सरकारको ध्यान गएको बताए।
उनले बडादसैंमा यातायात, सुरक्षा र बजार नियन्त्रणका बारेमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउँदै बढी गतिमा सवारी साधन चलाएर दुर्घटना हुन नदिन र बजाउ भाउ बढी हुन नदिन सरकारले सचेतना अपनाएको तथा सुपथ मूल्यका पसलहरु सञ्चालन गरेको उल्लेख गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।