काठमाडौं- सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी निवास भने नछोडे पनि आफ्नो सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भने फिर्ता गरेका छन्। उनले बिहीबार मात्र १७ सैनिक र ११ प्रहरी कर्मचारी फिर्ता गरेका हुन्।
तर बाहिर डेराको खोजीमा रहेकाले अहिलेसम्म सरकारी निवासमा नै रहनुपरेको उनले उल्लेख गरेका छन्। डेरा भेटिने बितिकै बालुवाटारस्थित सरकारी निवासबाट पनि बाहिरिने महराका प्रेस संयोजक डिल्ली मल्लले सरकारी निवासमै रहेको जानकारी दिए।
यौन दुराचारको आरोप लागेपछि महराले मंगलबार राजीनामा दिएका थिए। सर्तसहितको राजीनामा दिएकोमा विरोध भएपछि महराले ‘गोप्य’ रुपमा बुधबार पुनः अर्को राजीनामा पत्र बुझाएका थिए।
उपसभामुख शिवमाया तुम्बाहाङ्म्फेले महराको राजीनामा अस्वीकृत गरेपछि उनले भाषा सच्चाएर दोश्रो राजीनामा दिए।
सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सांसद पदबाट समेत राजीनामा गर्न दिएको सुझावलाई भने महराले अटेर गरेका छन्। सोमबार बसेको नेकपा सचिवालय बैठकले सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएको थियो।
उनका प्रेस संयोजक मल्लले भने, ‘सचिवालय बैठकबाट सांसदबाट पनि राजीनामा दिने कुरा आएको सुनिएको हो। प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने बारेमा केही सोचिएको छैन।’
उनको राजीनामा स्वीकृत पनि भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।