काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनबाट हुने उच्चस्तरको भ्रमणले दुइ देश बीच बलियो आर्थिक साझेदारीको जग बसाउने विश्वास नेपालले लिएको बताएका छन्।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर बुधबार बेलुका काठमाडौं फर्किँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चीनका राष्ट्रपति सी चिनपिङको भ्रमणले आर्थिक साझेदारीको जग बसाउने बताएका हुन्।
मन्त्री ज्ञवालीले छिमेकी राष्ट्रको विकास सहायताले नेपालको विकासमा आर्थिक साझेदारीको नयाँ आयाम बनाउने पनि जिकिर गरे। भ्रमणको मिति तोक्ने विषयमा दुवै देशका अधिकारीहरु गृहकार्यमा लागिरहेकोले निर्णयमा नपुगेको पनि उनको भनाइ छ।
मन्त्री ज्ञवालीले राष्ट्रपति सी भ्रमणको दौरान दुई देशबीच हुने छलफलका एजेन्डामा मुख्यरुपमा केरुङ-रसुवा-काठमाडौं रेलमार्ग हुने बताए। यसका साथै प्राविधिक विश्वविद्यालयको निर्माण पनि छलफलको एजेन्डामा पर्ने स्पष्ट पारे।
यस्तै, मन्त्री ज्ञवालीले न्युयोर्कमा भएको सार्क परराष्ट्र मन्त्रीस्तरिय बैठक पनि सकारात्मक भएको बताए। सार्कको अध्यक्षको हैसियतले नेपालले सार्क परराष्ट्र मन्त्रिस्तरीय बैठक बोलाएको थियो। बैठकमा भारत र पाकिस्तानका परराष्ट्रमन्त्रीले काश्मीरका विषयमा एक-अर्कामा आरोप लगाएको र बैठक ठोस निष्कर्षमा नपुगेको समाचारहरु आएका थिए। तर, परराष्ट्रमन्त्री ज्ञवालीले वार्ताले संवादको थालनी गरेको दाबी गरे।
मन्त्री ज्ञवालीले नेपालको संक्रमणकालीन न्यायको बारेमा समेत महासभाका विषयगत समितिमा चासो व्यक्त भएको बताए।
मन्त्रि ज्ञवालीले छलफलमा नेपालले संक्रमणकालको अन्त्य गर्न आफ्नो मौलिक विधि प्रयोग गर्ने बताएको जानकारी दिए। नेपालले न्याय व्यवस्थापनमा विस्तृत शान्ति सम्झौता, नेपालले अङ्गिकार गरेका तथा प्रतिवद्धता जनाएका अन्तर्राष्ट्रिय सहमति र सम्झौता, नेपालको सर्वोच्च अदालतले गरेका विभिन्न फैसला र नेपालको आफ्नो मौलिक सहमतिलाई आधार बनाएर सम्पादन हुने विश्वास दिलाएको बताए।
पछिल्लो समय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता परिवार खोजबिन आयोग गठन गर्न ढिलाई गरेको भन्दै मानव अधिकारमा काम गरिरहेका संयुक्त राष्ट्र संघका विभिन्न संस्थाले चासो व्यक्त गरेका छन्।
साथै परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो सहभागिता फलदायी भएको पनि दावी गरे। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।