काठमाडौं- नियात्राकार युवराज नयाँघरेको तनक्खा नियात्रा सङ्ग्रहको विमोचन भएको छ।
नेपाल म्यानमार मैत्री परिषद्का अध्यक्ष शंकर घिमिरेले पुस्तक विमोचन गर्दै यो कृतिले नेपाल र बर्मामा रहेका नेपालीको धर्म, संस्कृति र जीवनशैली चिनाउन मद्दत पुग्ने चर्चा गरे। ‘धेरै नेपालीहरु रोजगारीसँग गाँसिएर बर्मा पुगे पनि उनीहरुले आफ्नो परम्परा र पहिचान जोगाइरहेकै छन्। तनक्खामा यसको अत्यन्तै राम्रो वर्णन पाइन्छ,’ घिमिरेले भने।
कृतिबारे समीक्षा गर्दै समालोचक महेश पौडेलले देश छाडेका नेपालीको हृदय यो कृतिमा गाँसिएको बताए। 'नेपाली साहित्यमा यस्ता कृतिको निकै खाँचो छ,’ उनको भनाइ थियो, ‘यात्रा साहित्यमा यो एउटा अब्बल कृति हो। यसले बर्मा र नेपाली समाजको सम्बन्ध अझ गहकिलो पारेको छ।’
साहित्यकार मोमिलाले नयाँघरेको लेखकीय शैली तनक्खा झन् निखारिएको बताइन्। 'नेपालीको जीवनशैली, संस्कृति र सभ्यताको राम्रो शल्यक्रिया भएको छ,’ उनले भनिन्।
कृतिकार युवराज नयाँघरेले आफ्नो मूलथलो छोडेपछि नेपालीहरुको समग्र चरित्र र पहिचान कस्तो हुँदोरहेछ भन्ने अध्ययन र निष्कर्ष दिने मेरो प्रयास गरेको बताए। 'तनक्खामा बर्मामा रहेका नेपालीको इतिहास र वर्तमानको वर्णनसँगै भविष्यमा परिचय के हुन सक्छ भन्ने विवेचना पनि गरेको छु,’ नयाँघरेले भने, ‘बर्मामा नेपालीले कृपा होइन कदर पाएका छन्, दया होइन सम्मान पाएका छन्, बहिस्कार होइन स्वीकारको वातावरण पाएका छन्। म्यानमारमा नेपालीको पहिचान ज्यादै सम्मानित छ। हिजो गाई पाल्न गएकाहरु आज ठूलो–ठूलो कारोबारी भएका छन्। तनक्खामा नेपालीको सबै पुस्ताको सुक्ष्म वर्णन छ।’
विमोचन कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, नेपाल म्यानमार मैत्री परिषद्का तुलसी ज्ञवालीलगायतले मन्तव्य राखेका थिए ।
नयाँघरेको यो १६औं कृति हो। मदन पुरस्कार प्राप्त गरेका नयाँघरेको तनख्खा रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो। उनी निबन्ध र नियात्राका लोकप्रिय र सिद्धहस्त स्रष्टा मानिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।