काठमाडौं- आइतबार भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर बजारमा देखिन थालेको छ। भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेसँगै नेपालका व्यापारीले आफुसँग भएको प्याज लुकाएर कालोबजारी गर्न थालेका छन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको चारवटा टोलीले सोमबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा अनुगमन गरेको थियो। बजार अनुगमनका क्रममा व्यापारीहरुले अत्याधिक मुल्य बढाएको तथा प्याज लुकाएको भेटिएको छ।
‘हामी शुरुमा जाँदा व्यापारीहरुले १ सय ५० बोरा मात्र प्याज रहेको भने र चेकजाँचका क्रममा थप २ सय बोरा प्याज भेटिएको छ, विभागका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठले भने। ‘कालीमाटीका ८ वटा पसलमा अनुगमन गर्दा मुल्य सुचीमा पनि हिजो र आज ठूलो अन्तर देखिएको छ, उनले भने।
कालीमाटीका तरकारी व्यापारीले देखाएको खरीद र बिक्री सम्बन्धी बिलबिजक शंकास्पद देखिएपछि विभागले सो विषयमा स्पष्टिकरण सोधेको छ।
‘व्यापारीहरुले १ सय ७ रुपैयाँ प्रतिकिलो प्याज खरिद गरेको भेटिएपनि उनीहरुले हिजो अस्तिसम्म ९७ रुपैयाँ सम्म बिक्री वितरण गरेको देखिएको छ।
तर आज १ सय १० रुपैयाँ प्रतिकिलो बेचेको भने। हामीले यसको जवाफ सहित विभागमा हाजिर हुन व्यापारीहरुलाई निर्देशन दिएका छौं,’ श्रेष्ठले नेपाल लाईभसँग भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।