काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले दोहोरो करको समस्या समाधान गर्न कानुन नै संशोधन गर्न लागिएको बताएका छन्।
तीन तहका सरकारले लगाएको करमध्ये दोहोरो परेका अधिकांश समस्या समाधान भएको भन्दै खतिवडाले बाँकी रहेका समस्या समाधानका लागि अन्तर सरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय शासन सञ्चालन ऐन संशोधनको तयारी भइरहेको बताएका हुन्।
काभ्रेको पनौतीमा अभियान लघुवित्त वित्तीय संस्थाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले एउटा तहले उठाएको कर अर्को सरकारले हस्तान्तरण नगर्ने समस्या रहे पनि दोहोरो करको समस्या भने अब नरहेको उल्लेख गरे।
लघुवित्त वित्तीय संस्थाले स्वरोजगार उत्पादन गर्न र रोजगारी सिर्जाना हुने गरी काम गर्नुपर्ने उनको भनाइ छ। 'साना व्यवसायीलाई प्रोत्साहन गर्ने गरी लघुवित्त जानुपर्छ,' उनले भने, 'हाम्रो लक्ष्य निरपेक्ष गरिबी अन्त्य हो, त्यसमा सहयोग हुने गरी काम गर्नुपर्छ।'
लघुवित्त संस्थाहरु नेपाल राष्ट्र बैंकको नियमनको दायराभित्र बसेर काम गर्नुपर्ने भन्दै उनले समाजले नै पचाउन नसक्ने नाफा लिन अग्रसर हुन नहुने पनि बताए।
मन्त्री खतिवडाले स्थानीय तहको संरचनाको सुन्दर पक्षहरुलाई व्यवस्थित गरेर अघि बढ्न पनि सुझाव दिएका छन्। 'सिंहदरबारबाट प्रत्येक घरधुरीको गरिबी नदेखिएकाले राज्य प्रणाली पुनर्संरचना गर्नुपरेको हो,' उनले भने, 'अब सबै स्थानीय तहले त्यसैअनुसार काम गर्दै जानुपर्छ।'
सरकारले भौतिक पूर्वाधारको विकासमा जोड दिएको भन्दै खतिवडाले पूर्वाधार विकास भएपछि जनताको सरकाप्रतिको गुनासो कम हुँदै जाने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।