काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैंलगायत चाडबाडलक्षित बजार अनुगमन तीव्र बनाएको छ। विभागले एकैदिन चार–पाँचवटा अनुगमन टोली खटाउने गरेको छ भने तीन दर्जनसम्म व्यवसायिक स्थानमा अनुगमन गर्ने गरेको छ।
विभागले आइतबार मात्रै विभिन्न सपिङ मल, खाद्य तथा किराना पसल, डिपार्टमेन्टल स्टोर, औसधि पसल गरी २७ स्थानमा अनुगमन गरेको छ। यसरी भएका अनुगमनमध्ये गोंगबुस्थित बिजी मलका एकै व्यवसायीलाई एकैदिन २ लाख सम्म जरिवाना गरिएको छ। गोंगबुको बिजी मलमा विभागको टोलीले आइतबार अनुगमन गरेको छ।
मल भित्रको बि एन्ड डी फेन्सी एन्ड सु सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना तिराइएको छ। बिजी मल भित्रकै वान कमाना फेन्सी पसललाई ५० हजार जरिवाना गरेको छ।
विभागले आइतबार गरेको अनुगमनमा कारबाहीमा पर्नेमा २० भन्दा बढी बिजी मल भित्रैकै व्यापारी छन्। जसमध्ये एस टाईटन आर इन्टरनेसनल, एबी फेसन, सोलु गियर, बी व्याइलगायत एक दर्जन बढी पसललाई २० हजार रुपैयाँ जरिवाना तिराइएको छ।
विभागले असोज ९ गते गरेको अनुगमनमा उपत्यकाका विभिन्न स्थानमा २३ वटा व्यवसायिक फार्ममा अनुगमन गरिएको थियो भने २ लाख ६५ हजार रुपैयाँ जरिवाना तिराइएको थियो।
त्यसैगरी, असोज १० गते भएको अनुगमनमा १८ वटा व्यवसायिक फर्मलाई कारबाही गरी २ लाख ६० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।
अनुगमनका क्रममा पसलले बिल बिजक जारी नगरेको, खरिद बिलभन्दा दोब्बर हुने गरी सामान बिक्री गर्ने गरेको, खरीदभन्दा अत्यधिक बढी मूल्यमा वस्तु बेचेर उपभोक्ता ठग्ने गरेको, गुणस्तरीय सामान नबेचेको, समय गुज्रेका वस्तु बेचबिखन र अनुगमन टोलीलाई असहयोग गरेका कारण कारबाही गरिएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।