काठमाडौं- कवि तीर्थ श्रेष्ठले आफ्ना नयाँ कविताहरूको संग्रह 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक गरेका छन्।
नेपालयले सञ्चालन गर्दै आएको सांगीतिक कार्यक्रम 'पलेँटी'को सांगीतिक माहोलमा शुक्रबार साँझ श्रेष्ठको नयाँ पुस्तक विमोचन भएको हो। कुनैबेला तरलवादको नामले चिनिएको साहित्यिक अभियानमा लागेका कवि श्रेष्ठ गीतकारका रुपमा पनि परिचित छन्। यसपालिको पलेँटी कवि श्रेष्ठको गीत तथा कविता लेखनको बारेमा केन्द्रीत रह्यो।
कार्यक्रममा उनले रचना गरेका आधा दर्जन गीतहरू प्रस्तुत भएका थिए। संगीत र साहित्यको संगमले गर्दा उनको पुस्तक विमोचन कार्यक्रम चलनचल्तीका पुस्तक विमोचनभन्दा पृथक् देखिन्थ्यो।
कार्यक्रमको सुरुवात कवि श्रेष्ठको जन्मभूमिसँग सम्बन्धित गीतबाट भएको थियो। 'मेरै हिमाल जस्तो हेरिरहूँ पोखरा' बोलको गीतमा उनका मित्र सोम बज्राचार्यले संगीत भरेका थिए। कार्यक्रममा तीर्थले संगीतकार तथा गायक सोम बज्राचार्यलाई सम्झना गरे। केही वर्षअघि संसारबाट बिदा भएका सोम तीर्थका नजिकका मित्रमध्येका हुन्।
कार्यक्रमको दोस्रो प्रस्तुतिमा कवि श्रेष्ठको चर्चित कविता 'हिउँमा लेखेका नाम' सुनाइएको थियो। 'हामीले लेखेर आएका छौं, हिउँमा आ-आफ्ना नामहरू'लाई संगीतकार आभासले धुन भरेका हुन्। तेस्रो गीत पनि आभासकै धुनको 'तिमी मात्र आफ्नो भयौ' रहेको थियो।
कवि श्रेष्ठले नेपाली समाजमा सपनामाथि रहेको जनविश्वासलाई लिएर यो गीत लेखेको सस्मरण सुनाए। 'सपनामा मन पर्ने मान्छे देखियो भने ब्यूँझनासाथ सिरानी उल्टाउनु भन्छन्। त्यसो गर्दा उसको सपनामा पनि आफू प्रकट हुइन्छ रे। मैले त्यही लोक विश्वासलाई गीतमा संगालेको हुँ,' उनले भने।
तीन चरणमा विभाजन गरिएको कार्यक्रमको दोस्रो चरणमा कवि तीर्थ श्रेष्ठले आफ्ना पूर्व प्रकाशित कविताहरू सुनाएका थिए।
पुराना कविता वाचनको लगत्तै कवि तीर्थको नयाँ कवितासंग्रह 'धर्सैधर्साको चक्रव्यूह' र उनको सम्पूर्ण काव्यिक व्यक्तित्वमाथि निबन्धकार रोशन शेरचनले मन्तव्य व्यक्त गरेका थिए। 'उहा सरल भाषामा गहिरो कुरा भन्ने सामर्थ्य भएका कवि हुनुहुन्छ,' टिप्पणीका क्रममा उनले भने, 'तीर्थ श्रेष्ठका कवितामा रहेको जीवन दर्शनले हाम्रो भित्री मनलाई सहजै स्पर्श गर्छ। उहाँले लेखेको ‘हिउँमा लेखेका नाम' प्रथमपल्ट पढ्दा मेरो मन साहित्यिक आनन्दले आल्हादित भएको थियो।'
कवि श्रेष्ठले दर्शकदीर्घामा उपस्थितमध्ये अग्रज कलाकार दुर्गा बराल ‘वात्सायन’लाई पुस्तक उपहार दिएर कृति सार्वजनिक भएको उद्घोष गरेका थिए।
पुस्तक विमोचन कार्यक्रम नेपालय पब्लिकेसन्स र पलेँटीको सहकार्यमा भएको थियो। संग्रहमा उनका १०८ वटा कविताहरू रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।