काठमाडौं- दक्षिण एसियाली सहयोग संगठन (सार्क)का परराष्ट्र मन्त्रीहरुको यसपालीको अनौपचारिक बैठक पनि भारत र पाकिस्तानको द्वन्द्वबाट प्रभावमुक्त रहेन।
न्युर्योकमा बिहीबार आयोजना गरिएको सार्क मन्त्रीस्तरीय अनौपचारिक बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरलाई पाकिस्तानी विदेशमन्त्री साह मोहमद कुरैसीले बहिस्कार गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा नियमित रुपमा आयोजना गरिने उक्त बैठकको अध्यक्षता सार्कको अध्यक्षताको नाताले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए।
कार्यक्रम न्युर्याकस्थित वेस्टन होटेलमा बैठक आयोजना गरिएको थियो। भारतीय विदेशमन्त्री जयशंकरले बैठकस्थल छोडेपछि मात्रै पाकिस्तानी विदेशमन्त्री बैठकमा आएका थिए।

भारतीय विदेशमन्त्री जयशंकरले बैठकस्थल छाडेको ६ मिनेटपछि मात्रै पाकिस्तानी विदेशमन्त्री कुरैसी बैठकमा देखिएका थिए।
भारतीय अंग्रेजी अखबार इन्डियन एक्सप्रेसका अनुसार उनले आफू बैठकमा समयमै नआउनुको कारणबारे भनेका थिए, ‘के तपाईंलाई लाग्छ कि म काश्मीरका हत्यारासँगै बसौंला ?’
भारतीय अधिकारीले भने यसलाई नाटक भनेका छन्। ‘यस्तो नाटकले काम गर्ने छैन,’ भारतीय अधिकारीलाई उल्लेख गर्दै उक्त अखबारले लेखेको छ, ‘र्साकलाई अघि बढाउन पाकिस्तानले अनुकुल वातावरण बनाउनुपर्छ।’
गत ५ अगस्टमा भारतले त्यहाँको संविधानको धारा ३७० खारेज गर्दै भारत प्रशासित जम्मू-काश्मीरको विशेष स्वायत्तता खारेज गरेपछि दुई देशबीच तनाव चुलिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।