भैरहवा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनमा २ परियोजनाले लगानी सम्बन्धी हस्ताक्षर गरेका छन् भने १६ अर्ब रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। सम्मेलनमा परियोजनासँग सम्झौतापत्रमा हस्ताक्षर भएको नगरपालिकाले जानकारी दिएको छ।
स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यले आयोजना गरिएको लगानी सम्मेलनमा युकेआईडीको सिप र रोजगार प्रवर्द्धन कोष तथा नेपाल बैंकद्वारा प्रदान गरिने सहुलियत कर्जा परियोजनाको सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
समझदारी पत्रमा नगरपालिकाका तर्फबाट मेयर वासुदेव घिमिरे र परियोजनाको तर्फबाट सिप र रोजगार प्रवर्द्धन कोषका तर्फबाट बलजित बोहोराले हस्ताक्षर गरेका छन्। यसैगरी, नेपाल बैकद्धारा प्रदान गरिने सहुलियत कर्जा परियोजनाका तर्फबाट पासाङ दोर्जेले हस्ताक्षर गरे।
हस्ताक्षर भएका दुई परियोजनामा युकेआईडीको सिप र रोजगार प्रवर्द्धन कोष स्थापना तथा नेपाल बैकद्धारा प्रदान गरिने सहुलियत कर्जामा (महिला उद्यमशीलता, विपन्न वर्ग कर्जा, सीमान्तकृत वर्गका लागि कर्जा, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई कर्जा, कृषि सामुहिक जमानी कर्जा) रहेको नगरपालिकाका मेयर वासुदेव घिमिरेले जानकारी दिए। यी परियोजनाका लागि ऋण लिन नगरपालिकाले सिफारिस गर्नेछ।
लगानी सम्मेलनमा १६ अर्बको लगानी प्रतिबद्धता आएको छ। सम्मेलनको क्रममा बिहीबारसम्म ३० वटा परियोजना प्रस्ताव आएका छन्। ती मध्ये २४ वटा परियोजनाको आशय पत्र खोलिएको छ। सबै आशयपत्र खोल्दा लगानीको प्रतिबद्धता बढ्ने अपेक्षा नगरपालिकाले लिएको छ।

अन्य १० परियोजनामा प्रराम्भिक समझदारी कायम भएको नगरपालिकाका प्रेस सल्लाहकार बिपी गौतमले जानकारी दिए।
प्रारम्भिक समझदारी भएका परियोजनामा कृषि, पर्यटन, उद्योगलगायतका छन्। निजी क्षेत्रले विभिन्न २० परियोजना प्रस्ताव गरेका छन्। प्रस्तावित परियोजनामा स्वदेशी लगानी रहने उल्लेख छ।
नगरपालिकाले लगानी सम्मेलनपछि तोकिएको अवधिसम्म आउने परियोजनाका लागि विभिन्न कर छुटको अफर गरेको छ। रिडी हाइडो पावर, अन्नपूर्ण एग्रो, स्मार्ट एएसी नेपाल, उत्तम एग्रो प्रोडक्सन, सन आउटडोर प्रा.लि. लगायतका कम्पनीले लगानी प्रतिबद्धता जनाएका छन्।
निजी क्षेत्रबाट आएको लगानी प्रतिबद्धताले आफूहरु निकै उत्साहित भएको नगर प्रमुख वासुदेव घिमिरेले बताए। लगानी सम्मेलनमा आएका लगानीकर्ताले आगामी दिनमा समग्र रुपन्देहीमा लगानीका लागि आफूहरु तयार रहेको प्रतिबद्धता जनाएका छन्।
विदेशी लगानीकर्ताले समेत परियोजनाको सम्झौता गरिने अपेक्षा गरिएपनि पहिलो दिन भने कुनै पनि बिदेशी लगानीकर्ताले परियोजना सम्झौतामा हस्ताक्षर गरेका छैनन्। नगरपालिकाले लगानी सम्मेलनपछि पनि एक बर्ष अवधिसम्म आउने परियोजनाका लागि विभिन्न कर छुटको अफर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।