काठमाडौं- समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र राजपाका एक प्रमुख नेता राजेन्द्र महतोबीच संसदमा घोचपेच चलेको छ। यसअघि हालकै समाजवादी पार्टी (तत्कालिन संघीय समाजावादी फोरम)ले संविधानमा राखेको असहमतिका बारेमा डा भट्टराईले उल्लेख नगरेपछि महतोले व्यंग्य कसेका हुन्।
तत्कालिन फोरम र राजपाको असहमतिलाई उल्लेख नगरेर डा भट्टराईले शासकीय स्वरुप र निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका थिए। यस विषयमा संविधान संशोधन गर्न नसकेर गल्ति गरिरहेको उनले बताए।
भट्टराईले संविधान संशोधनको कुरा उठाउँदै भने, ‘थुप्रै मुद्दा बारे जान चाहन्नँ। राज्यको संघीय पुनःर्संरचना पहिचान र सामथ्र्यका आधारमा हुनुपर्ने प्रतिवेदन त्यतिबेला गठन गरिएका सुझाव समिति र आयोगले दिएका थिए। हामी कुनै आधार नभएको ढाँचामा गयौं। यो कुनैपनि बेला विष्फोटक हुन्छ।’ उनले संसद पूर्ण समानुपाति र प्रत्यक्ष कार्यकारी प्रणाली बनाउन संविधान संशोधन गर्नुपर्ने बताए।
उनले मुख्य कुरा यिनै भएको संकेत गर्दै उद्र्धु गजलकार मिर्जा गालिबको एक लाइन सुनाए, ‘धुल चेहेरे पर थी, ऐना साफ करता रहा !’
उनले लोकतन्त्रलाई विकास र समृद्धिमा परिणत गर्न सकेन भने प्रतिक्रान्तिकारी शक्ति आउन सक्ने भन्दै त्यसलाई रोक्न आफ्नो अनुहार सफा गर्नुपर्ने बताए।
संविधानमा असहमति राख्ने उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमसँग डा भट्टराईको पार्टी एकता भएकाले त्यही धारबाट लबिङ गर्ने अपेक्षा महतोको थियो। डा भट्टराईले उक्त विषयमा कुरा नउठाएर उद्र्धु गजलको सहारा लिएपछि महतो आक्रोशित भए। महतोले भट्टराईकै भनाइबाट व्यंग्य गरे, ‘डक्टरसाहब अभी–अभि कह गए, धुल चेहेरे पर थी, ऐना साफ करता रहा। अरे चेहेराका धुल तो देखो। हिन्दी सुन्नेका सोख हे, बहुत अच्छी तरह से आति हे।’
उनले जोडे, ‘संविधान दिवस मनाने चले। मधेशी तो नही मनरहा। थारुदले नमनाउने, आदिवासी जनजातिले नमनाउने, दलितले नमनाउने अनि कसले मनाउने संविधान दिवस?’
उनी फेरि समाजवादी पार्टी तर्फ नै फर्के, ‘हामी मनाएनौं ठिकै छ। तपाईंको सरकारी पक्षले मनायो कि मनाएन ?’
सरकारमा भएको पार्टीले नै संविधान दिवस नमनाउने भन्दै ७० प्रतिशत दिवाली होइन, ब्ल्याक आउट गर्ने बताए।
उनले उक्त विषयमा समाजवादी पार्टी नबोलेको भन्दै फेरि आक्रोश प्रकट गरे, ‘हिजो मसँगै काला दिवस मनाउने, आज चुपचाप लागेर बस्ने ? सभामुख मार्फत् त्यो मित्र (उपेन्द्र यादव)लाई भन्न खोजेको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।