काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशहरूबीच पछिल्लो समय न्यायपालिका र न्यायाधीशहरूसँग जोडिएका विवादबारे साझा धारणा बन्न सकेको छैन । यस विषयमा छलफल गर्न शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक कुनै निष्कर्षमा नपुगी टुंगिएको छ ।
करिब एक घण्टासम्म चलेको बैठकमा विवादबारे आन्तरिक छानबिन गर्ने विषयमा समेत न्यायाधीशहरूबीच मतैक्य हुन नसकेको स्रोतले जनाएको छ ।
शुक्रबारको बैठकमा प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँलको नाम बिचौलिया भनिएका इनम सापकोटासँग जोडिएर सार्वजनिक भएका विवरणबारे छलफल भएको थियो । बैठकमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाँलले पनि आफ्नो धारणा राखेका थिए ।
केही न्यायाधीशले सापकोटासँगको भेटघाट, ह्वाट्सएप संवाद र त्यससँग जोडिएका विषयमा अदालतभित्रैबाट छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर समितिको गठन र त्यसको प्रक्रियाबारे सहमति जुट्न सकेन ।
बैठकमा सर्वोच्चका १६ मध्ये १४ न्यायाधीश सहभागी थिए । वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजिज मुसलमान विदेशमा रहेकाले अनुपस्थित थिए ।
बैठकले तत्काल कुनै निर्णय नगरी सोमबार पुनः पूर्ण बैठक बस्ने तय गरेको छ । उक्त बैठकमा दुवै अनुपस्थित न्यायाधीशसमेत सहभागी हुने अपेक्षा गरिएको छ । त्यतिन्जेल विवादबारे थप निर्णय नगरी प्रतीक्षा गर्ने समझदारी भएको स्रोतले जनाएको छ ।
यस प्रकरणमा सार्वजनिक भएका विवरणबारे प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाँलले यसअघि नै आ–आफ्नो धारणा सार्वजनिक गरिसकेका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।