काठमाडौं- भन्सारसम्बन्धी अन्तर्राष्ट्रिय नियम नेपालले मात्र पालना गर्नुपर्छ भन्ने नभएको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्। यस्ता नियम कानुन अन्य देशले पालना नगरेका नियम नेपालले पालना गर्नैपर्छ भन्ने नभएको खतिवडाले जिकिर गरे।
भन्सार विभागको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा मन्त्री खतिवडाले भन्सार एजेन्ट संस्था नभएको दाबी गरे। ‘भन्सार एजेन्ट व्यावसायीहरुले आफ्नो सहजताका लागि राखेकाले त्यो आधिकारिक संस्था होइन,’ उनले भने, ‘एजेन्टको साटो बरु सरकारको तर्फबाट आवश्यक कर्मचारी राख्न परे त्यसको व्यवस्था गरिनेछ।’
भन्सार एजेन्सीहरुले गरेको काममा केही गन्ध आएको आभास भएकाले यस्ता अनावश्यक काममा लाग्न नहुने मन्त्री खतिवडाले बताए। भन्सार प्रक्रिया पूरा गरेर ल्याइएका सामान कुनै पनि हालतमा नअल्झ्याउन कर्मचारीहरुलाई मन्त्री खतिवडाले निर्देशन दिए। ‘नेपाल भित्रिएका सामान अल्झ्याउने कान नगर्नु होला,’ उनले भने, ‘कार्यालयले गर्ने काम त्यहींबाट होस्, नहुने हो भने विभाग वा मन्त्रालयलाई पठाए हामी तत्काल गाँठो फुकाउँछौं।’
'बिटुमिन आयात भएको हुनसक्छ, कारखानाका लागि मेसिन ल्याएको हुनसक्छ' भन्दै उनले पुँजी निर्माणका सामाग्रीको आयात रोकिनु भनेको देश विकास रोकिनु भएको बताए। ‘भन्सार भनेको द्वारपाल हो,’ उनले भने, ‘त्यहाँको ढोका बन्द भयो भने सामान आयात नै रोकिन्छ।’ ढोका खोल्दै गर्दा भएका नियम/कानुनको भने पूर्ण पालना गर्न भन्सारका कर्मचारीहरुलाई उनले आग्रह गरे।
सामान आयात गर्दा गल्ती गरे त्यसको भागिदार कर्मचारी नै हुने स्पष्ट पार्दै उनले सरकार यस विषयमा शून्य सहनशीलताको नीतिमा रहेकाले सम्यमता अपनान आग्रह गरे। सामान आयात गर्दा खोलिने प्रतितपत्र (एसी)बारे समेत हेरिनुपर्ने अवस्था आएको उनको भनाइ छ।
संसारभर डम्पिङमा गणना गरिएका वस्तुको आयातमा सरकारले कडाइ गरेको छ। ‘यस्ता वस्तुहरु नेपालमा आयात हुन सक्दैनन्,’ उनले भने, ‘नेपालका लागि आवश्यक वस्तु र पुँजी निर्माण गर्ने वस्तुको आयातमा भने सरकारले सहजीकरण गर्छ।’
पूर्वाधार विकासका लागि बिटुमिनदेखि हवाइजहाजसम्म चाहिने भएकाले व्यापार घाटा केही बढेको हो। यसले पुँजी निर्माणमा सहयोग पुर्याउने भएकाले यसलाई व्यापार घाटाको रुपमा मात्र हेरिन नहुने खतिवडाले तर्क गरे।
भन्सारले नेपाल आएका सामान आउनयोग्य हो वा होइन, आएका सामान नेपालमै खपत भयो वा भएन भनेर समेत हेर्नुपर्ने अर्थ सचिव डा राजन खनालको भनाइ छ। भन्सारको काम सामान ल्याउने र दिने मात्र नभइ त्यसको प्रभावबारे समेत सचेत हेर्नुपर्ने आवश्यकता देखिएको उनले औंल्याए।
अत्याधुनिक भवन बनेकाले अब भन्सारले गर्ने कामसमेत अत्याधुनिक नै हुनुपर्नेमा खनालले जोड दिए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।