काठमाडौं- श्रमिकहरुले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रुपमा बैंकखाता खोल्नुपर्ने भएको छ।
गत शुक्रबारदेखि श्रमिकहरुको बैंक खाता नम्बर भएपछि मात्रै श्रम स्वीकृति दिन थालिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
पुनः श्रम स्वीकृति तथा नयाँ श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको बैंक खाता अनिवार्य रुपमा हुनुपर्ने श्रम कार्यालय ताहाचलका कार्यालय प्रमुख देवेन्द्र कार्कीले बताए।
‘विकास बैंक तथा वाणिज्य जुनसुकै बैंकमा पनि श्रमिकहरुले खाता खोल्न सक्छन्, श्रमिकहरुको सहजताका लागि श्रम कार्यालय परिसरमै हामीले बैंकहरुलाई खाता खोल्न अनुमति दिएका छौँ,’कार्यालय प्रमुख कार्कीले भने।
श्रम कार्यालय ताहाचल तथा राहदानी विभागस्थित गरिमा विकास बैंक, कुमारी बैंक, सिभिल बैंक, सनराइज बैंकलगायतका बैंकहरुले वैदेशिक रोजगारमा जाने कामदारहरुको खाता खोल्न स्टल राखेका छन्।
वैदेशिक रोजगारीमा जानुअघि बैंक खाता खोल्नुपर्छ भन्ने जानकारी नभएका तथा अन्य कुनैपनि बैंकमा आफ्नो व्यक्तिगत खाता नभएका कामदारले कार्यालय परिसरभित्रै स्टल राखिएका विभिन्न बैंकबाट खाता खोल्न सक्ने व्यवस्था गरिएको छ।
खाता खोलेको केही बेरमै एटिएम
कामदारहरुले स्टलमा खाता खोलेको केही बेरमै खाता नम्बर तथा एटिएम कार्ड प्राप्त गर्न सक्ने व्यवस्था बैंकहरुले गरेका छन्।
कामदारहरुले बैंकमा खाता खोल्ने बित्तिकै खाता नम्बर प्राप्त गर्न सक्छन्। एटिएम कार्डका लागि भने केही घन्टा कुर्नुपर्छ।
विभिन्न बैंकले श्रम कार्यालय ताहाचलमा राखिएका बैंकका स्टलका कर्मचारीहरुसँग नेपाल लाइभले प्रतिक्रिया लिँदा उनीहरुले श्रमिकहरुको एटिएम कार्ड समेत ३ घन्टामै उपलब्ध गराउन सक्ने बताए।
गरिमा विकास बैंकले भने खाता खोल्दा श्रमिकहरुबाट १ सय रुपैयाँ लिएको भेटिएको थियो। सो रकम श्रमिकहरुकै बैंक खातामा रहने बताइएको छ।
त्यस्तै तुरुन्त एटिएम कार्ड लिनुपर्ने श्रमिकहरुले १ हजार रुपैयाँ आफ्नो खातामा डिपोजिट गर्नुपर्ने र त्यो रकम श्रमिक आफैँले खाताबाट निकाल्न पाउने बैंकले जानकारी दिएको छ।
एटिएमबाट परिवारले पनि पैसा निकाल्न मिल्ने
खाता खोल्दा श्रमिकहरुले प्राप्त गरेको एटिएम कार्ड गन्तव्य मुलुकमा प्रयोग गर्न नमिले पनि उनीहरुका परिवारले सो एटिएममार्फत् रकम उक्त खातामा भएको रकमबाट आवश्यक रकम निकाल्न सक्छन्।
त्यसका लागि वैदेशिक रोजगारीमा जाने व्यक्तिले आफ्ना परिवारका विश्वासिलो सदस्यलाई सो एटिएम कार्ड र पिन नम्बर उपलब्ध गराउनु पर्छ।
विदेशबाट नेपालको बैंकखातामा पैसा राख्न कति सहज? वैदेशिक रोजगारीमा जाने श्रमिकले नेपालका बैंकमा खोलेको खातामा आफूले कमाएको रकम जम्मा गर्न भने खासै सहज नभएको फर्किएर आएका श्रमिकहरुले बताएका छन्।
खोटाङ जाल्पाका सन्तोष तामाङ युएईमा काम गर्न थालेको १ वर्ष भयो। युएईबाट छुट्टिमा आएका उनी पुनः श्रम स्वीकृतिका लागि श्रम कार्यालय ताहाचल पुगेका थिए।
श्रम स्विकृति लिन अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएपछि उनले पनि बैंक खाता खोलेका छन्।
तर उनी विदेशमा बैंक खातामा आफूले कमाएको रकम जम्मा गर्न सहज वातावरण नभएको बताउँछन्।
‘विदेशमा बैंक खातामा पैसा जम्मा गर्न धेरै झन्झटिलो छ, पहिले मैले नेपालमा आफन्तकै बैंक खातामा पैसा पठाउने बेलामा धेरै झन्झट बेहोर्नु परेको थियो,’ उनले भने, ‘धेरै डकुमेन्टहरु माग्छ, समय पनि लाग्छ, अब सरकारले नै अनिवार्य गर्ने भएपछि केही सहज होला कि?’
श्रम कार्यालय ताहाचलका कार्यालय प्रमुख देवेन्द्र कार्कीले सरकारले नेपाली कामदारहरुले विदेशमा दुःख गरेर कमाएको रकमलाई सुरक्षित माध्यमबाट नेपाल पठाउन मिल्ने गरी बैंक खाता अनिवार्य गरिएको बताए।
उनले भने, ‘अहिले नेपालमा अन्तर्राष्ट्रिय स्तरका बैंकहरु नभएकाले गन्तव्य मुलुकमा कमाएको रकम सिधै आफ्नो खातामा जम्मा गर्न सहज छैन। तैपनि श्रमिकहरुले मनि ट्रान्सफरमार्फत् आफ्नो खातामा रकम जम्मा गर्न सक्छन्।’
‘सरकारको लक्ष्य भनेको यस प्रविधिलाई विस्तारै सहज बनाउँदै लैजाने हो। केही समय पछि श्रमिकहरुले गन्तव्य मुलुकमा कमाएको रकम आफ्नो बैंक खातामा सहज रुपमा राख्न पाउने व्यवस्था समेत सरकारले गर्छ,’कार्यालय प्रमुख कार्कीले थपे।
खाता खोल्न केके कागजात चाहिन्छ?
बैंक खाता खोल्नका लागि दुई वटा पासपोर्ट साइजको फोटो र नेपाली नागरिकता वा पासपोर्टको फोटोकपी आबश्यक पर्दछ।
श्रमिकहरुले श्रम स्वीकृति लिनु अघि आफूलाई पायक पर्ने बैंकमा गएर समेत बैंक खाता खोल्न पनि सक्छन्। श्रम स्वीकृति लिँदा उनीहरुले आफ्नो बैंक खाता नम्बर अनिवार्य रुपमा खुलाउनु पर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।