अमलेखगन्जस्थित नेपाल आयल निगमको इन्धन भण्डारणस्थल। पाइपलाइनबाट आएको इन्धन यहीँ भण्डारण गर्ने तयारी निगमको छ।
काठमाडौं- बहुप्रतीक्षित अन्तरदेशीय पेट्रोलियन पाइपलाइन परियोजनाको मङ्गलबार मध्यान्ह १२:१५ मा उद्घाटन हुने भएको छ।
भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ-आफ्नो मुलुकबाट ‘स्विच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ स्विच थिचेर परियोजनाको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
नयाँ दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्विच थिचेपछि बरौनीमा नेपाल आउने तेलको पाइप 'अन' हुने र सिंहदरबारबाट प्रधानमन्त्री ओलीले 'रिसिभ' स्विच थिचेपछि नेपालको अमलेखगञ्जमा तेल झारिने गरी तयारी गरिएको आयल निगमले जानकारी दिएको छ।
उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रनेछ। पहिलो चरणमा पाइपलाइनबाट डिजेल ल्याइनेछ। यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ। मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ। जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ।
पाइपलाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइपलाइन परियोजनाले जनाएको छ। सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ। पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुनेछ।
पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुने बताइएको छ। देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ।
पाइपलाइन परियोजना उद्घाटनको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूर्ण भएको नेपाल आयल निगमले जनाएको छ। परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगन्जमा हुनेछ। यसका लागि निगमको उच्च अधिकारी सम्मिलित टोली अमलेखगन्ज पुगिसकेको छ।
निगम र भारतीय आयल कर्पोरेसनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो। सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो।
सन् २०१५ को अगस्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण सुरु भएको हो। निगमले २०७३ साल चैत २५ गतेबाट पाइप बिच्छ्याउन सुरु गरेको थियो।
निगमको नेतृत्व सम्हाल्ले लगत्तै कार्यकारी निर्देशक पौडेलले उक्त परियोजनालाई तोकिएको समयभित्रै सम्पन्न गर्न ताकेता तथा कुनै समस्या देखिए समाधानका लागि सहजीकरण गर्दै आएका थिए। सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उनका भारतीय समक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा पाइपलाइन परियोजनाको शिलान्यास गरेका थिए।
यसअघि गत साउन ३ मा परीक्षणको रुपमा पहिलोपटक पाइपलाइनबाट नेपाल तेल आएको छ। पेट्रोलियम पाइपलाइन परियोजनाले परीक्षणका रुपमा भारतको पटनाबाट साउन १ मा पठाइएको डिजेल त्यसको २ दिनपछि नेपालको अमलेखगञ्ज डिपोमा आइपुगेको थियो।
नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत रक्सौल-अम्लेखगन्ज खण्डमा पाइपलाइनबाट इन्धन ढुवानी हुने भएपछि वार्षिक करिब साढे २ अर्ब रुपैयाँ बराबरको ढुवानी लागत बच्ने नेपाल आयल निगमको अपेक्षा छ।
भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कूल २५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखि अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर क्षेत्रको पाइपलाइन शुक्रबार परीक्षण गरिएको हो।
६ हजार किलोलिटर इन्धन मौज्दातको लागि ४ ट्यांकीमध्ये ३ वटा तयार भएको र अर्को एक ट्यांकीको स्तरोन्नति पनि गरिएको छ। गत साउनमै तयार भएका ट्यांकीमध्ये ३९ सय किलोलिटरका २ र ४१ सय किलोलिटरका क्षमताका २ वटा ट्यांकी रहेका छन्।
आयोजनामा भारतीय आयल निगम (आइओसी)को २ अर्ब भारतीय रुपैयाँ र नेपाल आयल निगम (एनओसी) को ७५ करोड भारतीय रुपैयाँ गरी कूल २ अर्ब ७५ करोड भारतीय रुपैयाँ लागत रहेको छ। जसमध्ये नेपालको ३० प्रतिशत र भारतीय पक्षको ७० प्रतिशत लगानी हुने सम्झौता थियो।
करिब ११ मिटर लम्बाई रहेको १० दशमलब ७५ इन्च मोटाईको माइल स्टिल एमएस पाइपबाट प्रतिघन्टा २ सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सकिने आयोजनाले जनाएको छ।
सन् २००४ मा सम्झौता भएर २०१८ बाट निर्माण थालिएको यो परियोजना २०२० मार्चमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, निर्धारित अवधिभन्दा झन्डै ८ महिनाअघि नै निर्माण सम्पन्न भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।