भारतको मोतीहारीबाट अमलेखगन्जसम्म पहिलो पटक पाइपलाइनबाट डिजेल

नेपाल लाइभ | २०७६ श्रावण ३ शुक्रबार | Friday, July 19, 2019 १३:२४:०० मा प्रकाशित

काठमाडौं- भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म पहिलो पटक पाइपलाइनबाट तेल आएको छ। पेट्रोलियम पाइपलाइन परियोजनाले परीक्षणका रुपमा भारतको पटनाबाट बुधबार दिउँसो २ बजे पठाइएको डिजेल शुक्रबार बिहान साढे ६ बजे नेपालको अमलेखगञ्ज डिपोमा आइपुगेको आयोजना प्रमुख प्रदीप यादवले जानकारी दिए।

भारतको पटनाबाट मोतीहारीसम्म बुधबार नै पठाइसकेको डिजेल मोतीहारीबाट बिहीबार राति नै नेपालतर्फ छोडिएको हो।

‘शुक्रबार परीक्षणका रुपमा १ हजार किलोलिटर डिजेल हामीले डिपोमा झारेका हौं’, उनले भने, ‘बाँकी पाइपभित्रै रहन्छ। औपचारिक रुपमा पनि उद्घाटन भएपछि निर्वाध ढुवानी हुन्छ,’ आयोजना प्रमुख यादवले भने।

साउन १५ भित्रै औपचारिक उद्घाटनका लागि तयारी गरिरहेको पनि उनले जानकारी दिए। नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत रक्सौल-अम्लेखगन्ज खण्डमा पाइपलाइनबाट इन्धन ढुवानी हुने भएपछि वार्षिक करिब साढे २ अर्ब रुपैयाँ बराबरको ढुवानी लागत बच्ने नेपाल आयल निगमको अपेक्षा छ।

पाइपलाइनबाट पहिलो चरणमा भने डिजेलमात्र आयात गरिने निगमले जनाएको छ। नेपाली बजारमा डिजेलको माग उच्च रहेकाले त्यसलाई सम्बोधन गर्न पहिलो चरणमा डिजेल आयात गर्न लागिएको हो। निगमले २०७३ साल चैत २५ गतेबाट पाइप बिच्छ्याउन सुरु गरेको थियो।

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कूल २५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखि अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर क्षेत्रको पाइपलाइन शुक्रबार परीक्षण गरिएको हो।

६ हजार किलोलिटर इन्धन मौज्दातको लागि ४ ट्यांकीमध्ये ३ वटा तयार भएको र एक मात्र ट्यांकीको स्तरोन्नति गरिने काम भइरहेको परियोजनाका ईन्जिनियर शरद पौडेलले बताए। हाल अम्लेखगञ्जमा ३९ सय किलोलिटरका २ र ४१ सय किलोलिटरका २ ट्यांकी रहेका छन्।

आयोजनामा भारतीय आयल निगम (आइओसी)को २ अर्ब भारतीय रुपैयाँ र नेपाल आयल निगम (एनओसी) को ७५ करोड भारतीय रुपैयाँ गरी कूल २ अर्ब ७५ करोड भारतीय रुपैयाँ लागत रहेको छ। जसमध्ये नेपालको ३० प्रतिशत र भारतीय पक्षको ७० प्रतिशत लगानी हुने भनिए पनि हालसम्मको सबै खर्च भारतीय पक्षले ब्यहोरेको यादवले बताए।

करिब ११ मिटर लम्बाई रहेको १० दशमलब ७५ इन्च मोटाईको माइल स्टिल एमएस पाइपबाट प्रतिघन्टा २ सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सकिने आयोजना प्रमुख यादवले बताए।

सन् २००४ मा सम्झौता भएर २०१८ बाट निर्माण थालिएको यो परियोजना २०२० मार्चमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, निर्धारित अवधिभन्दा झन्डै ८ महिनाअघि नै निर्माण सम्पन्न भएको आयोजना प्रमुख इन्जिनियर यादवको भनाइ छ।