काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी ३ दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आउँदैछन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल आउन लागेका उनी १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिउँसो ४:२० मा विशेष उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
चार वर्षपछि नेपाल आउन लागेका मन्त्री यीको यसपालीको भ्रमण चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको आधार तय गर्ने र चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा केन्द्रित हुनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवाली र उनका चिनियाँ समकक्षी यी नेतृत्वको प्रतिनिधिमण्डलबीच सोमबार दिउँसो ३ः३० बजेदेखि ४ः३० बजेसम्म होटल याक एन्ड यतीमा द्विपक्षीय भेटवार्ता हुनेछ।
नेपालले दुई वर्षअघि बिआरआईको समझदारी पत्रमा हस्ताक्षर गरेको थियो। बिआरआईअन्तर्गत नेपालले ९ परियोजना छनोट गरेको छ। दुई परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने बैठकमा लगानीका स्वरूप तथा कार्यादेश (टिओआर) निश्चित हुनेछन्।
सरकारी समाचार संस्था रासससँगको संक्षिप्त कुराकानीमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने जानकारी दिएका छन्।
उनले दुई देशबीच विगतमा भएका सन्धिसम्झौता तथा नेपालमा सञ्चालित विकासनिर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताए।
बिआरआईअन्तर्गत चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी भएको छ। जसअन्तर्गत रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र यातायात तथा पारवहनसम्बन्धी सम्झौता समेत भएका छन्। मन्त्री ज्ञवालीले यीनै विषयमा केन्द्रित रहेर वार्ता हुने मन्त्री ज्ञवालीले बताए।
भ्रमणको आधार तय
केपी ओली नेतृत्वमा सरकार बनेयता नेपाल भ्रमणमा आउने मन्त्री यी चीनका वरिष्ठ अधिकारी हुन्।
उनको नेपाल भ्रमणलाई लामो समयदेखि चिनियाँ राष्ट्र प्रमुखबाट हुन नसकेको भ्रमणको अवस्थालाई तोडी चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका रुपमा बुझिएको छ।
परराष्ट्रमन्त्री ज्ञवाली भने चिनियाँ विदेशमन्त्रीको आगमन चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि उत्साहपूर्ण अवस्था भएको बताउँछन्। ‘उच्चस्तरीय नेतृत्वको आगमन उत्साहको विषय हो, तर भ्रमणको मिति निर्धारण भएको छैन,’ मन्त्री ज्ञवाली भन्छन्। चिनियाँ राष्ट्रपतिले उपयुक्त समयमा भ्रमण गर्नेमा आफू आशावादी रहेको उनको भनाइ छ।
चीनबाट सन् २०१२ यता कुनै पनि राष्ट्र र सरकारप्रमुखले नेपाल भ्रमण गरेका छैनन्। सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री बेनजिया बाओ केही घण्टाका लागि काठमाडौं आएका थिए।
२३ वर्षयता कुनै पनि चिनियाँ राष्ट्रपतिबाट नेपालमा भ्रमण हुन सकेको छैन। सन् १९९६ मा राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए।
आफ्नो पहिलो कार्याकालमै दक्षिण एसियाका अधिकांश देश भ्रमण गरिसकेका चिनियाँ राष्ट्रपति सी जिन पिङ अहिलेसम्म नेपाल भ्रमणमा आएका छैनन्। चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागतका लागि पटक-पटक आमन्त्रण गरिएको छ।
पछिल्लोपटक गत १५ असारमा ६ दिने चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी यीसँगको भेटमा पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे चर्चा गरेका थिए। १८ असारमा दुई मन्त्रीहरुबीच भएको भेटमा उपयुक्त समयमा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने विषयमा सहमति भएको थियो।
यसपटक अक्टोबर मध्यतिर सी नेपाल आउने ठानिएको छ। चिनियाँ राष्ट्रपति सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जाँदैछन्।
सन् २०१८ मा दुई नेताले चीनको वुहानमा दुई दिने अनौपचारिक भेटघाट गरेका थिए, जुन वुहान शिखर सम्मेलनका नाममा चर्चित छ। वुहान शिखर सम्मेलनको दोस्रो संस्करणका रुपमा सी र मोदी यसपाला भारतमा बैठक बस्न लागेका हुन्।
यसअघि भारतको वाराणसीमा उक्त सम्मेलन आयोजना गर्ने भनिए पनि सुरक्षा चुनौतीका कारण उक्त स्थान रद्द गरिएको छ। अब उक्त सम्मेलन सम्भवतः तमिलनाडूको महावलीपुरम सहरमा आयोजना गरिनेछ।
सी भारतको दुई दिने भ्रमण सकेर स्वदेश फर्किने बेला अक्टोबर १५ मा नेपाल उत्रिने ठानिएको छ।
व्यस्त कार्यसूची
करिब ४५ घण्टाका लागि काठमाडौं आउन लागेका मन्त्री यीको भ्रमण कार्यसूची भने व्यस्त छ।
परराष्ट्र मन्त्रालय स्रोतबाट नेपाल लाइभले प्राप्त गरेको विदेशमन्त्री वाङको तीन दिने औपचारिक भ्रमण कार्यतालिकाअनुसार भदौ २२ गते, आइतबार अपरान्ह ४ः२० बजे उनी विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
काठमाडौं रहँदा सोल्टी क्राउन प्लाजा होटलमा बस्ने उनको आइतबार भने कुनै औपचारिक कार्यक्रम छैन।
सोमबार भने उनी निकै व्यस्त रहनेछन्। सामेबारै उनले समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्नेछन् भने राष्ट्रपति, प्रधानमन्त्रीदेखि सत्तारुढ नेकपा र प्रमुख परतिपक्षी नेपाली कांग्रेसका नेतासम्मलाई भेट्नेछन्।
सोमबार दिउँसो ३ः३० बजेदेखि ४ः३० बजेसम्म वाङले याक एन्ड यतीमा आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा चीनको विदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओ हुई, चाइना अन्तर्राष्ट्रिय डेभलपमेन्ट कोअपरेसन एजेन्सीका उपाध्यक्ष देङ बोकिङ र नेपालका लागि चिनियाँ राजदूत होउ याङछीलगायत छन्।
त्यस्तै, ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र सचिव शंखरदास बैरागी, अर्थ सचिव राजन खनाल, शिक्षा सचिव महेशप्रसाद दाहाल, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललगायत छन्।
साँझ ५ बजे उनले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नेछन्। ओलीसँग उनले करिब ४५ मिनेट कुराकानी गर्नेछन्।
शितल निवासमा गएर उनले राष्ट्रपति भण्डारीसँग बेलुकी ६ बजेदेखि ६ः४० बजेसम्म भेटवार्ता गर्नेछन्।
चीन फर्किनुअघि उनले मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन्। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।