गाउँपालिका अध्यक्षलाई २ करोड फिरौती माग्ने कार्यमा उपाध्यक्ष र वडाध्यक्षकै संग्लनता

उपाध्यक्षसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी
नारायण अधिकारी | २०७६ भदौ ६ शुक्रबार | Friday, August 23, 2019 १६:४०:०० मा प्रकाशित

काठमाडौं- रामेछापको लिखु गाउँपालिकाका अध्यक्षलाई धम्की दिँदै मोटो रकम असुल्न खोज्ने कार्यमा सोही गाउँपालिकाकी उपाध्यक्षको संलग्नता देखिएको छ।

प्रहरीले उपाध्यक्ष दिपशिखा न्यौपाने दाहालको संलग्नता देखिएपछि उनीविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ। प्रारम्भिक अनुसन्धानमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादमा यस्तो घटना भएको प्रहरीले निष्कर्ष निकालेपछि जिल्ला अदालत काठमाडौंले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

उपाध्यक्ष दाहालसँगै उक्त प्रकरणमा संलग्न भएको भन्दै तत्कालीन नेकपा (माओवादी)का नेता 'सन्दीप' भनिने ध्रुव कार्की र सोही गाउँपालिकाको ७ नम्वर वडाका वडाअध्यक्ष सुवास बोहोरालाई पनि पक्राउ पूर्जी जारी गरिएको छ।

यसअघि प्रहरीले साउन २४ गते दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको थियो। अपराध महाशाखाको टोलीले स्वयम्भुको विजेश्वरीबाट उनीहरुलाई पक्राउ गरेको थियो। एक घरमा लुकेर बसेका उनीहरुलाई पक्राउ गर्न खोज्दा भागेका थिए। त्यसक्रममा प्रहरीले गोली चलाउँदा 'लोप्चन लामा' भनिने मिलन तामाङको घुँडामा दुई वटा गोलीसमेत लागेको थियो। सो क्रममा उनीसँगै रहेका अमृत तामाङ पनि पक्राउ परेका थिए।

उनीहरुले एक महिनादेखि रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई फोनबाट धम्की दिँदै २ करोड माग्दै आएका थिए।

उक्त योजना उपाध्यक्ष, वडाध्यक्ष्य र ध्रुव कार्कीकै योजनामा भएको पक्राउ परेका दुवैले बयान दिएपछि उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको हो। पक्राउ पूर्जी महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइसकेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

काठमाडौंको बानेश्वरमा समेत घर भएका खड्का केही समयदेखि काठमाडौं नै बस्दै आएका थिए। ती व्यक्तिहरुले २ करोड रुपैयाँ नदिए छोरीको अपहरण गरी हत्या गर्नेसम्मको धम्की दिने गरेका थिए। खड्काकी ८ वर्षकी छोरी छिन्।

घर नजिकै आएर रेकी गर्दै उनीहरुले खड्का कस्तो लुगा लगाएर कहाँ जाँदैछन् भन्नेसमेत फोनमा सुनाउने गरेका थिए। 'गोली खर्च गर्नु नपरोस्' भन्दै एक महिनादेखि धम्की खेप्दै आएका अध्यक्ष खड्काले त्यसपछि भने प्रहरीमा उजुरी दिएका थिए।

उनहरुले लिखु हाइड्रोबाट २० लाख र रोड कन्सट्रक्सनबाट ३० लाख रुपैयाँसमेत मागेको प्रहरीकहाँ मौखिक उजुरी परेको बताइएको छ।

गोली लागेका मिलन तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अर्का अमृत तामाङ प्रहरी नियन्त्रणमा छन्।

आफूमाथि लागेको आरोपको खन्डन गर्दै वडाध्यक्ष बोहोराले यसअघि एक विज्ञप्ति समेत निकालेका थिए।

र यो पनिः

गाउँपालिका अध्यक्षको घर रेकी गर्दै एक महिनादेखि पिछा, २ करोड नदिए छोरीको हत्या गर्ने धम्की