काठमाडौं- प्याजको मूल्य एक पटक फेरी आकाश छुने गरी वृद्धि भएको छ। दिल्लीको बजारमा केही दिन पहिले प्याज ३५ देखि ४० रुपैयाँ किलो बिक्री भएको थियो। अहिले ६० देखि ७० रुपैयाँ प्रतिकिलो पुगेको छ।
प्याजको मूल्यले दिल्लीमा शासन गरिरहेको आम आदमी पार्टीको आसु निकालिरहेको छ।
राजधानी दिल्लीको आजादपुर मन्डीमा प्याजको मूल्य ५० रुपैयाँ थोकमा बिक्री भइरहेको छ।
प्याजसँग जोडिएका व्यापारीहरुले भने यसरी मूल्यको उतर चढाव हुनुमा उत्पादन भएको र माग बढेकाले मूल्य वृद्धि भएको बताउँदै आएका छन्।
आजादपुर मन्डीका प्याज व्यापारी संघका अध्यक्ष सुरेन्द्र बुद्धिराजाका अनुसार अघिल्लो वर्ष प्याजको मूल्य प्रतिकिलो ४-५ रुपैयाँसम्म पुगेको थियो।
उक्त मूल्यमा आएको गिरावटले गर्दा किसानले यसपटक कम उत्पादन गरेका थिए।
‘स्टक कम भएकाले अहिले प्याजको मूल्य उच्च बिन्दूमा पुगेको हो,’ सुरेन्द्रले भने, ‘विगतलाई हेरेर किसानले यो पटक कम प्याज लगाए जसका कारण बजारमा हाकाकार भयो।’
उनका अनुसार यो वर्ष २५ देखि ३० प्रतिशत कम प्याज उत्पादन भएको छ। प्याजमा कमी हुनुको अर्को कारण भनेको वर्षा भएको पनि उनले बताए। वर्षाका कारण धेरै प्याज नष्ट भयो त्यही डरका कारण किसानले समय अगावै प्याज खनेर बजारमा ल्याएको कारण पनि अहिले अभाव भएको उनले बताए।
दिल्लीमा महाराष्ट्र,मध्ये प्रदेश, गुजरात र राजस्थानबाट प्याज आउने गर्दछ। अप्रिलमा प्याज निकल्ने र तिहारसम्म त्यसले बजारहिस्सा लिने हुने गर्दछ तर यसपटक अहिले नै हाहाकार छ।
तीन गुणा महङगाे प्याज खाँदै नेपाली
नेपालको प्याज बजार भारतमा निर्भर छ। गत वर्ष नेपालले १६ करोड ७९ लाख ५२ हजार ५ सय १४ केजी प्याज भारतबाट आयात गरेको थियो।
जसबापत ५ अर्ब २६ करोड ९६ लाख १४ हजार रुपैयाँ बराबरको प्याज आयात गरेको थियो। नेपालमा खपत हुने ९० प्रतिशत भन्दा बढी प्याज भारतबाट आयात हुने गरेको छ।
गतवर्ष यो समयमा प्याज ३० रुपैयाँ बराबर रहेको थियो। कालिमाटी फलफुल तथा तरकारी बजारका अनुसार थोक मूल्य १ सय रुपैयाँ पुगेको छ।
यो वर्ष तीन गुणाभन्दा बढीले प्याजको मूल्यमा वृद्धि भएको छ।
यो वर्ष नेपाली भान्सामा पनि तीन गुणा महङ्गो प्याज खरिद गर्नुपर्ने भएको छ। यसरी आयातबाट सरकारले २६ कराेड ३८ लाख ५ हजार रुपैयाँ राजश्व संकलन गरेकाे थियाे।
एसियाको सबैभन्दा ठूलो सब्जीमन्डीमा कति छ प्याजको भाउ?
सुरेन्द्रका अनुसार दिल्लीको सब्जीमन्डीमा अधिकांश प्याज महाराष्ट्रबाट आउने गर्दछ।
महाराष्ट्रको लासल गाउँमा एसियाकै ठूलो प्याजमन्डी छ। भारतभर प्याजको भाउ पनि मन्डीले निर्धारण गर्दछ।
लासलगाउँको मन्डीमा प्याजको भाउ ४५-५० रुपैयाँ प्रतिकिलो पुगेको छ।
लासलगाउँ एग्रिकल्चर प्रोडियुस मार्केट कमिटीका अध्यक्ष जयदत्ता होलकरका अनुसार महाराष्ट्र एवं मध्यप्रदेशमा प्याज किसान मौसमको मार खेप्दै उत्पादनमा लागेका हुन्छन्। यो सिजनमा त्यहाँका किसानले सुरुमा सुख्खा र पछि धेरै वर्षाका कारण प्याजको उत्पादनका धेरै नोक्सान व्यहोर्नु परेको उनको बुझाई छ।
आगामी दिनका प्याज विदेशबाट मगाउनु पर्ने अवस्था सिर्जना हुन लागेको छ। भारत सरकारले अफगानीस्तान, इरान र ग्रिसबाट प्याज आयात गर्नुपर्ने अवस्था सिर्जना हुन लागेको छ।
किसानहरुले सरकारको नीति असफल भएका कारण प्याज अभाव भएको बताउँदै आएका छन्।
सरकारले पछिल्लो हप्ता प्याजको न्यूनतम निर्यात मूल्य ८ सय ५० डलर प्रतिटन तोकेको थियो।
सरकारले सस्तो मूल्यमा खरिद गरेको ब्याज बजारमा नपठाउँदा महङ्गो भएको उनीहरुको आरोप छ।
त्यसलाई बजारमा प्रतिस्पर्धाका लागि बिक्री गर्ने हो भने बजारमा देखिएको अभाव हट्ने कारोबारीहरुको भनाई छ।
समग्र रुपमा सरकारले प्याजको अलग्गै नीति निर्माण नगर्दा समस्या भईरहेका उनीहरुको दाबी छ।
प्याजको मुल्य समयमा निश्चित नगरे तिहारमा मध्यमवर्गमाथि त्यसको असर पर्ने निश्चित छ।
बिबिस हिन्दी र एजेन्सीकाे सहयाेगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।