काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत् आयोजना कार्यक्रम’ उद्घाटन गरेका छन्।
सो कार्यक्रम जलविद्युत् मार्फत् आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्य र त्यस्ता आयोजनामा हरेक नेपालीको लगानीे प्रत्याभुति गर्ने महत्वाकांक्षी कार्यक्रम हो।
उक्त कार्यक्रमअन्तर्गत ६ वटा प्रदेशबाट करिब ३ हजार ५ सय मेगावाट उत्पादन क्षमताका १९ वटा आयोजनाहरु छनौट गरिएका छन्।
सो कार्यक्रममा प्रदेश २ बाट भने एउटा पनि आयोजना परेको छैन।
कुन प्रदेशमा कति क्षमताका आयोजना?
आयोजना र उत्पादन क्षमताका हिसाबमा सबैभन्दा धेरै प्रदेश १ का ६ वटा आयोजनाबाट १ हजार ७ सय ५१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ।
प्रदेश ३ मा २ वटा आयोजनाबाट १ सय ३३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ।
त्यसैगरी, गण्डकी प्रदेशका ४ वटा आयोजना छनौट भएका छन्। ती आयोजनाबाट ७ सय ७५ मेगावाट विद्युत उत्पादन हुनेछ। प्रदेश ५ मा ४८ मेगावाट उत्पादन क्षमता रहेको भेरी बबई डाईभर्सन मात्र उक्त कार्यक्रमभित्र परेको छ।
कर्णाली प्रदेशका ३ वटा आयोजनाबाट ६ सय ४९ मेगावाट र सुदुरपश्चिम प्रदेशका ३ वटा आयोजनाबाट ४ सय २३ मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य छ।
कार्यक्रममा प्रदेश २ का कुनै पनि आयोजना समावेश गरिएको छैन।
कार्यक्रमअन्तर्गत छनौट भएको आयोजनाहरु ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।