काठमाडौं- संघीय समाजवादी फोरम नेपालले प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ।
आइतबार बसेको फोरमको संसदीय दलको बैठकले दलको नेतामा राउतलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो। राष्ट्रिय जनता पार्टी नेपालसँग मिलेर प्रादेशिक सरकारको नेतृत्व गर्ने तयारी गरेको फोरमबाट राउतलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।
बैठकमा दलको नेतामा ७ जना आकांक्षी देखिए पनि अन्तिममा राउतको नाममा सहमति बनेको थियो। दोस्रो संविधानसभा निर्वाचनबाट समानुपातिक सांसद बनेका राउत पार्टी उपाध्यक्षसमेत हुन्।
राजपा र फोरमबीच भएको सहमति अनुसार प्रदेशको ठूलो दलले मुख्यमन्त्री र दोस्रो दलले सभामुख लिने सहमति छ। सहमति अनुसार दुवै पार्टी अगाडि बढे राउत प्रदेश २ को मुख्यमन्त्री हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।