काठमाडौं– पत्रकार किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको बहस सकिएको छ।
श्रेष्ठको पक्षमा १७ जना र सरकारी पक्षबाट ४ जना अधिवक्ताले बहस गरेपछि इजलासमा श्रेष्ठ स्वयं उपस्थित भएर आफ्नो भनाइ राखेका छन्।
उनले आफूलाई ५५ जना लागूऔषध मुद्दाका अभियुक्तसँगै थुनामा राखिएको बताए। आफूलाई जेल हालिए पनि वा मारिए पनि प्रेस स्वतन्त्रता भने मार्न नहुने उनले बताएका छन्।
आफ्नो भनाइ राख्ने क्रममा श्रेष्ठ धुरुधुरु रोएको बहसमा सहभागी एक अधिवक्ताले नेपाल लाइभलाई बताए। उनले पाँच दिनदेखि खान र सुत्नसमेत नपाएको गुनासो गरेका थिए।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।
यसअघि सर्वोच्च अदालतले सोमबार जफत गरिएका सामग्रीसहित श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। श्रेष्ठको रिहाइका लागि उनकी पत्नी सरस्वती श्रेष्ठले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।