उपसभामुख रुबी ठाकुरले जनआस्था पत्रिकाका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठविरुद्ध ललितपुर जिल्ला प्रहरी परिसरमा उजुरी दर्ता गराएकी छन्।
ललितपुर प्रहरी परिसरका अनुसार उपसभामुख ठाकुरका तर्फबाट परिसरमा श्रेष्ठविरुद्ध उजुरी दर्ता भएको हो।
आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक मर्यादामा आँच पुग्ने गरी जनआस्था पत्रिका तथा अनलाइनमा सामग्री प्रकाशित भएको भन्दै उनले उजुरी दिएको प्रहरीले जनाएको छ। प्रकाशित सामग्रीका कारण आफू र आफ्नो परिवार मानसिक तनावमा परेको उनको दाबी छ।
यसअघि उपसभामुख ठाकुरले सोही विषयलाई लिएर प्रेस काउन्सिल नेपालमा समेत उजुरी दिएकी थिइन्। उनले प्रकाशित सामग्री तथ्य, प्रमाण र विश्वसनीय स्रोतबिना भ्रामक तथा आधारहीन रहेको दाबी गर्दै सम्बन्धित सञ्चारमाध्यम तथा जिम्मेवार व्यक्तिमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गरेकी थिइन्।
जनआस्था पत्रिकाका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठ यसअघि सप्तरी–३ का सांसद अमरकान्त चौधरीले दिएको जाहेरीका आधारमा पक्राउ परिसकेका छन्। श्रेष्ठमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।