काठमाडौँ– काठमाडौंको होस्टलमा बसेर अध्ययन गरिरहेका छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित 'भ्याली ब्वाइज होस्टल' भित्रै कुटपिट तथा धारिलो हतियार प्रहार गरी दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको शुक्रबार हत्या भएको थियो।
छोराको हत्या भएको खबर थाहा पाएपछि दाङमा उनकी आमाले प्राण त्यागेकी छिन्। छोराको हत्या भएको खबर थाहा पाएपछि सिलिङ फ्यानमा पासो लगाएर झुन्डेको अवस्थामा ३८ वर्षीया बिना कालाथोकीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेम केसीले बताए। उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
उनका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन्। वसन्तको हत्यामा संलग्न आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–३ घर भएका प्रमित पटेल र सोही ठाउँ भएका शेखर यादवलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ। वसन्त फ्रान्स जाने तयारीमा काठमाडौँमा बसेर भाषा अध्ययन गरिरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।