काठमाडौं- नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वारको रूपमा स्थापित गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले विभिन्न मुलुकमा प्रवर्द्धनात्मक अभियान चलाएको छ। उदीयमान पर्यटन बजारको रूपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाइल्यान्डमा बोर्डले सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स, नेपाल (सोट्टो)सँगको सहकार्यमा नेपाल गन्तव्य प्रवर्द्धन गरेको हो।
बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वार र एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘नेपाल सेल्स मिसन २०१९’ कार्यक्रम क्रमशः यही जुन १०, १२ र १४ तारिखका दिन सम्पन्न गरिएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ।
सहभागी प्रतिनिधिले नेपाल भ्रमण वर्ष २०२० लगायत नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रमुख गन्तव्यका साथै एक पटक भ्रमण गर्नैपर्ने गन्तव्यको रूपमा सहभागीमाझ प्रस्तुतिकरण गरेका थिए। सो अवसरमा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र र सोट्टो नेपालले तयार गरेको नेपालसम्बन्धी प्रवर्द्धनात्मक वृत्तचित्र पनि देखाइएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले सरकारले नेपाल भ्रमण वर्ष २०२० राष्ट्रिय अभियानका अवसरमा स्वदेशी र विदेशी पर्यटन व्यवसायीलाई थप व्यावसायिक सम्बन्ध विस्तार गर्न आग्रह गरे।
सोट्टो नेपालका अध्यक्ष मधुसुदन उपाध्यायले बौद्ध धार्मिक पर्यटन केन्द्रको रूपमा नेपाल भ्रमण ‘प्याकेज’ बिक्री गर्न कार्यक्रममा सहभागी स्थानीय पर्यटन व्यवसायी प्रतिनिधिलाई अनुरोध गरे।
उक्त अवसरमा नेपालबाट सहभागी भएका पर्यटन व्यवसायी र विदेशस्थित पर्यटन व्यवसायीबीच भियतनामको हनोई, कम्बोडियाको न्होम पेन्ह र थाइल्याण्डको बैङ्ककमा व्यावसायिक गतिविधि विस्तारका सम्बन्धमा छुट्टाछुट्टै अन्तरक्रियासमेत भएको बोर्डले जनाएको छ।
नेपाली राजदूतावास बैङ्ककको सहकार्य एवं समन्वयमा बैङ्ककमा आयोजना गरिएको नेपाल साँझ २०१९ मा थाइल्यान्डका लागि नेपालका राजदूत गणेशप्रसाद ढकालले नेपाल र थाइल्याण्डको ६० वर्ष पुरानो र सौहार्दपूर्ण दौत्य सम्बन्धको स्मरण गर्दै थाइल्याण्डका जनतामा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीप्रति अगाध आस्था रहेकाले लुम्बिनीलाई भ्रमण प्याकेजमा समावेश गर्न थाई पर्यटन व्यवसायीलाई अनुरोध गरे।
लुम्बिनीका लागि सद्भावनादूत विक्रम पाँडे काजीले बुद्धको जीवन र ‘बुद्धिष्ट सर्किट’ को विषयमा प्रस्तुति दिएका थिए।
सन् २०१८ मा भियतनामबाट कूल १२ हजार ४ सय ५४, कम्बोडियाबाट ३ हजार ७ सय ९० र थाइल्यान्डबाट ५३ हजार २ सय ५० पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्याङ्क छ। नेपाल वायुसेवा निगमले हप्तामा ३ पटक काठमाडौं–बैङ्कक–काठमाडौं हवाई सेवा सञ्चालन गरिरहेको छ। यो सहज आवागमनले यी देशबाट नेपालमा पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।