गोरखा — गृहमन्त्री सुधन गुरुङ दुई दिनदेखि बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षणमा व्यस्त छन् । शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको गाउँ पनि हो ।
सिर्दिबास पुगेका गृहमन्त्री गुरुङलाई स्थानीयले बाढीले सडक मार्ग क्षतिग्रस्त बनाउँदा राहत वितरणमा समस्या परेको गुनासो राखे । ‘सडक नहुँदा हेलिकोप्टरबाट राहत ल्याउनुपर्ने अवस्था छ, बाढीले पोल बगाउँदा गाउँमा बिजुली छैन, झोलुङ्गे पुल बाढीले बगाएपछिको समस्या सुनायौँ,’ चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले भनिन्, ‘घट्टेखोलाको एउटा विद्यालय पनि बाढीले बगाएको छ, भौतिक संरचनाको क्षति र राहत वितरणमा भएको समस्याबारे गृहमन्त्रीलाई जानकारी गराएका छौँ ।’
गृहमन्त्री गुरुङ शनिबार नै हेलिकोप्टरमार्फत आरुघाट झरेका थिए । शनिबार साँझसम्म उनले आरुघाटको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरे ।
आरुघाट हुँदै धार्चे गाउँपालिका–५, माछाखोला पुगेर बास बसेका गुरुङले आइतबार बुढीगण्डकीले कटान गरेको खोर्लाबेँसीको सडक निरीक्षण गरेका छन् । चुमनुब्री, आरुघाट र धार्चे क्षेत्रका बाढी प्रभावितले गृहमन्त्रीलाई झोलुङ्गे पुल पुनर्निर्माणदेखि सडक सञ्चालन गर्नेसम्मका गुनासा राखेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।