सोल- नेपालबाट अब कोरिया आउने इपिएस श्रमिकको स्वास्थ्य परीक्षणअन्तर्गत मुटु र मानसिक स्वास्थ्य परीक्षणलाई पनि समावेश गर्न यहाँका विज्ञले सुझाएका छन्।
इपिएस शाखाले भाषा परीक्षामा उत्तिर्ण हुने युवाहरुको क्षयरोग, आँखा, हेपाटाइटिस, जण्डिस लगायतका रोगको परिक्षण गर्छ। परीक्षणमा यी रोगहरु लागेर गम्भीर समस्या देखिएको पाइएमा त्यस्ता युवालाई कोरिया प्रवेशमा रोक लगाइन्छ।
तर, कोरिया आएका युवाहरुमा सुतेकै अवस्था हुने मृत्यु, डिप्रेसनका कारण आत्महत्या गर्ने लगायतका समस्याहरु धेरै देखिएकाले उक्त दुई रोगको परीक्षण पनि सँगै गरेर पठाउँदा उचित हुने यहाँका सरोकारवालाहरुको सुझाव छ।
सुतेकै अवस्थामा हुने मृत्युका विषयमा कारणसहितको 'अथोप्सी रिपोर्ट' पाउन नसकिए पनि यस्ता घटनाहरु सामान्यतया मुटुकै समस्याले हुनसक्ने बताउँछन् ख्यङ्जु वृद्धवृद्धा अस्पतालका प्रमुख डा राजेशचन्द्र जोशी।
उनी थप्छन्, ‘सुतेकै अवस्थामा हुने मृत्युका धेरै कारण हुन सक्छन्, तर मुख्य समस्या मुटुको नै हो। यसका लागि सरकारले पहल गरेर यहाँका अस्पतालहरुसँग अथोप्सी रिपोर्ट मागेर इपिएस कोरया शाखाका प्रमुखलाई सुझाउन उचित देखिन्छ।’
इपिएस कोरिया शाखाले गर्दै आएको स्वास्थ्य परीक्षणअन्तर्गत मुटु रोगलाई पनि परीक्षणकै विषयअन्तर्गत समावेश गरेर, उसको वंशाणुगत कुनै समस्याहरुबारे सोधपुछ गरी लगत राखेमा समस्या समाधानमा सहयोग पुग्ने डा जोशीको तर्क छ।
त्यस्तै, कोरियामा डिप्रेसनका कारण आत्महत्या गर्ने नेपालीको संख्या पनि उच्च रहेको बताउँछन् कोरियाका लागि नेपाली श्रम सहचारी डिल्लीराम बास्तोला। वंशाणुगत वा नेपालमै मानसिक समस्या रहेका युवालाई सकेसम्म यहाँ नपठाउँदा उचित हुने तर्क बास्तोलाको छ। मानसिक स्वास्थ्यका विषयमा पनि परामर्श गरेर गम्भीर समस्या देखिएका बिरामीलाई कोरिया नपठाउन उनले सुझाव दिए।
बास्तोला भन्छन्, ‘डिप्रेसनको समस्या रहेका व्यक्तिलाई परिवारकै समिपमा राख्नु उचित रहेको डाक्टरहरुको सल्लाह बमोजिम यहाँ उक्त समस्या लिएर आउनेहरुलाई हामीले पनि नेपाल पठाउने गरेका छौँ, सकेसम्म त्यस्ता बिरामीलाई कोरिया नपठाऔँ।’
सन २०१९ का लागि कोरियाले १० हजार ५० जना नेपाली कामदार ल्याउने जनाएको छ। जसका लागि हिजो(शनिबार) र आज(आइतबार)का लागि परिक्षा तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।