इटहरी- पत्रकारलाई इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले दिएको धम्कीलाई लिएर नेपाल पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले पत्रकार विराट अनुपमलाई 'नाकको हड्डी भाँच्न एक करोड र घडेरी छुट्याएको छु' भनी दिएको धम्कीको निन्दा र भर्त्सना गरेको छ।
उपमहानगर मेयर चौधरीले मंगलबार २ पटकसम्म पत्रकार अनुपमलाई धम्की दिएका थिए। आफ्नो फेसबुक पोस्टमा 'चाटुकार पत्रकार' भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर मेयर चौधरीलाई फोन गरेका अनुपमलाई उनले पहिलो पटक मंगलबार दिउँसो धम्की दिएका थिए। उनले अनुपमकै स्टाटसमाथि 'अब तिम्रो पालो' भन्दै कमेन्ट लेखेका थिए।
उनले आफू गुन्डागर्दीमा उत्रिएको बताउँदै आफ्नो ज्यानको सुरक्षा गर्न समेत चुनौती दिएका थिए। सोपश्चात् करिब ५ घन्टापछि पुनः पत्रकार अनुपमलाई फोन गरी आफ्नो सुरक्षा गर्न सुझाएका थिए। उनले नेकपा नेता परशुराम बस्नेतलाई आफूले परिचालन गरिसकेको भन्दै सुपारीसमेत दिएको बताएका थिए।
आफू कम्युनिष्टको कार्यकर्ता भएको सम्झाउँदै उनले कम्युनिष्ट पार्टीको कार्यकर्ता 'डिक्टेट' स्वभावको हुने बताएका थिए। ‘सक्छौ भने आफ्नो सुरक्षा गर। सुपारी दिइसकेको छु,’ उनले भनेका छन्, ‘मेरो सामाजिक मर्यादा र राजनीतिक करियरको क्षतिपूर्ति कसले दिन्छ? म र केपी ओलीलाई यो देशमा कसैले कारबाही गर्नु एउटै हो। अब तिमीलाई माफ गर्दिन म, यस्ता पत्रुकारको कुरा म जान्दछु। तिमी आफ्नो सुरक्षा गर।
महासंघले पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ। यसअघि पनि उनले गत जेठ ८ गते समाचार संकलनका क्रममा गएका दुई पत्रकारमाथि दूर्व्यवहार गरेका थिए। सो घटनालाई लिएर पत्रकारको भावनामा चोट पुर्याउने आफ्नो कुनै पनि मनसाय नरहेको बताएका मेयर चौधरीले पुनः आफ्नो प्रतिबद्धता काम गरेकोमा पत्रकारलाई असुरक्षा बढेको महासंघको ठहर छ।
पत्रकारलाई दिएको धम्कीप्रति मेयर चौधरीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने समेत महासंघले माग राखेको छ। विज्ञप्तिमा पत्रकारलाई काम गर्ने सुरक्षित काम गर्ने वातावरण नभएमा सशक्त कार्यक्रम गर्न बाध्य हुने समेत चेतावनी दिइएको छ।
उता मंगलबार साँझ नै सुपारी दिने हकमा आफ्नो नाम जोडिएकोमा नेकपा नेता बस्नेतले आपत्ति प्रकट गरेका थिए। 'मिडियाप्रति इटहरीका मेयर चौधरीबाट भएको व्यवहारको निन्दा गर्दछु,' नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'म एक राजनीतिक व्यक्तिले गर्ने चरित्रमा मात्र विश्वास गर्छु। उहाँले के कति कारणले मलाई मुछ्नुभयो, यो कुरा राजनीतिक चरित्र होइन, मिडियालाई गरेको व्यवहारसँग मेरो आपत्ति छ। उहाँले जुन हर्कत गरिरहनु भएको छ, त्यो निन्दनीय व्यवहार हो। उहाँमाथि कारबाही गर्नुपर्छ भन्ने कुरा स्पष्ट पार्न चाहन्छु।'
नेता बस्नेतले इटहरीका मेयर चौधरीलाई पार्टी र जनप्रतिनिधि दुबैको जिम्मेवारीबाट बर्खास्त गर्न समेत माग गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटसमा लेखेका छन्, 'यस्ता अराजक जनप्रतिनिधिलाई राज्य र पार्टी दुबैबाट कारबाही गरी बर्खास्तसमेत गर्न जोड्दार माग गर्दछु।'
यो पनि पढ्नुहोस्:
पत्रकारलाई इटहरीका मेयरको धम्की– तेरो नाकको हड्डी भाँच्न बाँकी छ
मेयरले पत्रकारलाई फेरि धम्क्याउँदै भने– परशुराम बस्नेतलाई सुपारी दिइसकेको छु, आफ्नो सुरक्षा गर [अडियो]
आफ्नो नाम जोडिएपछि बस्नेतले भने- अराजक मेयरलाई बर्खास्त गर्नुपर्छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।