काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका नेता परशुराम बस्नेतले आफ्नो नाम जोडेर पत्रकारलाई धम्क्याइएको भन्दै आपत्ति प्रकट गरेका छन्।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बस्नेतको नाम जोडी पत्रकारलाई धम्की दिएकोप्रति नेपाल लाइभले बस्नेतसँग सम्पर्क गर्दा उनले आपत्ति प्रकट गरेका हुन्। 'मिडियाप्रति इटहरीका मेयर चौधरीबाट भएको व्यवहारको निन्दा गर्दछु,' उनले भने। आफू राजनीतिक व्यक्ति भएकाले गैरराजनीतिक विषयमा विश्वास नगर्ने र आफूसँग यस विषयमा मेयर चौधरीसँग कुनै सम्पर्क नरहेको बस्नेतले बताए।
'म एक राजनीतिक व्यक्तिले गर्ने चरित्रमा मात्र विश्वास गर्छु। वहाँले के कति कारणले मलाई मुस्नु भयो यो कुरा राजनीतिक चरित्र होइन,' उनले भने, 'मिडियालाई गरेको व्यवहारसँग मेरो आपत्ति छ। वहाँले जुन हर्कत गरिरहनु भएको छ, त्यो निन्दनीय व्यवहार हो। वहाँमाथि कारबाही गर्नुपर्छ भन्ने कुरा स्पष्ट पार्न चाहन्छु।'
सोमबार साँज सामाजिक संजाल फेसबुकमा समेत स्टाटस लेख्दै बस्नेतले मेयर चौधरीले आफ्नो नाम उच्चारण गरी पत्रकारलाई धम्की दिएको भन्ने भनाइप्रति आपत्ति जनाए।
बस्नेतले लेखेको फेसबुक स्टाटसमा भनिएको छ 'समाजिक संजाल र केही मिडियामा इटहरीका मेयरले मेरो नाम जोडेर पत्रकार मित्रलाई धम्क्याएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।' उनले साइनो सम्बन्ध बेगर नै नाम जोडेर पत्रकार लाई धम्क्याउने काम मेयर चौधरीले गरेको भए उनले 'मानसिक सन्तुलन गुमाएको हुनपर्ने' उल्लेख गरेका छन्।

नेता बस्नेतले इटहरीका मेयर चौधरीलाई पार्टी र जनप्रतिनिधिको दुबैको जिम्मेवारीबाट बर्खास्त गर्न समेत माग गरेका छन्। उनले लेखेका छन्, 'यस्ता अराजक जनप्रतिनिधिलाई राज्य र पार्टी दुबैबाट कारबाही गरी बर्खास्तसमेत गर्न जोड्दार माग गर्दछु।'
इटहरीकै पत्रकार विराट अनुपमलाई मेयर चौधरीले बारम्बार फोन गरी 'परशुराम बस्नेतलाई सुपारी दिइसकेको र आफ्नो सुरक्षा आफै गर' भन्दै धम्की दिएका थिए।
सोमबार दिउँसो १ बजेतिर फोन गरेरै मेयर चौधरीले परशुराम बस्नेतलाई आफूले परिचालन गरिसकेकाले सुरक्षित हुनु भन्दै धम्क्याएका थिए। उनले ‘तेरो नाकको हड्डी भाँचिदिन्छु’ भन्दै त्यसको लागि मान्छे पारिचालन गरिसकेको धम्की दिएका थिए।
सोमबार साँझ पुनः फोन गरी मेयर चौधरीले पत्रकार अनुपमलाई परशुराम बस्नेतलाई आफूले सुपारी दिइसकेको दोहोर्याएका थिए।
आफू कम्युनिष्टको कार्यकर्ता भएको सम्झाउँदै उनले कम्युनिष्ट पार्टीको कार्यकर्ता डिक्टेटर स्वभावको हुने बताएका थिए। ६ मिनेट लामो कुराकानीमा उनले आफूले सुपारी दिइसकेकोले सुरक्षित भनेका थिए।
यो पनिः
मेयरले पत्रकारलाई फेरि धम्क्याउँदै भने– परशुराम बस्नेतलाई सुपारी दिइसकेको छु, आफ्नो सुरक्षा गर [अडियो]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।