काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनताको अपेक्षाअनुसार नै बजेट ल्याएको बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जनताको अपेक्षाअनुसार बजेट नआएको भन्दै आलोचना गरिरहेका बेला नेता पाण्डेले मुलुकलाई सही बाटोमा अघि बढाउने गरी बजेट आएको जिकिर गरे।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले बजेटले वित्तीय अनुशासनलाई पनि ख्याल गरेको स्पष्ट पारे। सरकारले आगामी आर्थिक वर्ष साढे ८ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ। नेता पाण्डेले सरकारले सो लक्ष्य हासिल हुने गरी बजेट ल्याएको पनि बताए।
मुलुकको आर्थिक वृद्धिदरलाई कायम गर्न स्रोतको अभाव बजेटमा नदेखिएको नेता पाण्डेको भनाइ छ।
उनले मुलुकको आर्थिक वृद्धिदरलाई बढाउन सिमेन्ट, जस्ता, रडजस्ता देशभित्रै उत्पादन हुने वस्तुहरुले सघाउ पुर्याउने विश्वास पनि व्यक्त गरे। बजेटमा अनुदानमा बढावा गरिएकाले कृषि उत्पादन वृद्धि हुँदा पनि नेपालको आर्थिक वृद्धिदर बढेर जाने उनको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।