बैंकक- विदेशमा जन्मिएका नेपाली मूलका व्यक्तिहरूलाई औपचारिक पहिचान प्रदान गर्दै परिचयपत्र वा मान्यतासम्बन्धी कागजातको व्यवस्था गर्न पीपुल अफ नेपाली ओरिजिन (पीएनओ) ले नेपाल सरकारसँग माग गरेको छ।
थाइल्यान्डको बैंककमा अक्टोबर ११ देखि १८, २०२६ सम्म आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) तथा विश्व बैंकको वार्षिक बैठकका क्रममा पीएनओका अध्यक्ष कुमार कार्कीले नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक पत्र बुझाउँदै यस्तो माग गरेका हुन्।
उक्त अवसरमा सांसद अर्जुनबहादुर कार्की तथा नेपालका लागि थाईल्याण्डका राजदूत धनबहादुर ओलीको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा विदेशमा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्तिहरूको पहिचान, अधिकार र नेपालसँगको सम्बन्धका विषयमा छलफल भएको थियो।
पीएनओका अध्यक्ष कार्कीले विदेशमा जन्मिएका नेपाली मूलका व्यक्तिहरूलाई नेपाल सरकारले औपचारिक रूपमा पहिचान प्रदान गर्न तथा उनीहरूका लागि उपयुक्त परिचयपत्र वा मान्यतासम्बन्धी कागजातको व्यवस्था गर्न आग्रह गरेका छन्।
पीएनओका अनुसार नेपाली मूलका धेरै व्यक्ति पुस्तौँदेखि विदेशमा बसोबास गर्दै आए पनि उनीहरूको नेपालसँग सांस्कृतिक, ऐतिहासिक तथा भावनात्मक सम्बन्ध रहँदै आएको छ। नेपाल सरकारले उनीहरूलाई औपचारिक पहिचान प्रदान गर्न सकेमा पुर्ख्यौली भूमिसँगको सम्बन्ध थप सुदृढ हुने र नेपालसँगको आबद्धताका अवसरहरू विस्तार हुने संस्थाको विश्वास छ।

पीएनओका अध्यक्ष कार्कीले विदेशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूको पहिचान, अधिकार र हित प्रवर्द्धनका लागि नेपाल सरकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) तथा विश्वभरका पीएनओ प्रतिनिधिहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूको पहिचान संरक्षण गर्दै नेपाल र विश्वभर फैलिएको नेपाली मूलको समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।