काठमाडौं– विश्वभर पिएचपी (PHP) वेब प्रविधिमा गम्भीर सुरक्षा कमजोरी देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ। सम्भावित साइबर आक्रमणबाट प्रणालीलाई सुरक्षित राख्न बैंकले यस्तो कदम चालेको हो।
राष्ट्र बैंकले सूचना जारी गर्दै वेबसाइट तथा सेवा अस्थायी रूपमा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।
बैंकले अत्यावश्यक सूचना तथा जानकारीका लागि आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने विवरण हेर्न आग्रह गरेको छ।
बैंक तथा वित्तीय संस्थालाई सतर्क रहन आग्रह
पिएचपी वेब प्रविधिमा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित संस्थाहरूलाई आफ्ना सूचना प्रविधि प्रणालीको सुरक्षा सुनिश्चित गर्न, आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न र प्रणालीमाथिको निगरानी बढाउन बैंकले अपिल गरेको हो।
के हो पिएचपीमा देखिएको जोखिम?
पिएचपी (PHP) वेबसाइट तथा वेब एप्लिकेसन निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो। यसमा देखिने सुरक्षा कमजोरीको दुरुपयोग गरेर आक्रमणकारीले वेबसाइट वा सम्बन्धित प्रणालीमा अनधिकृत पहुँच प्राप्त गर्ने प्रयास गर्न सक्छन्।
यस्ता जोखिमले सरकारी निकाय, वित्तीय संस्था तथा अन्य अनलाइन सेवा प्रदायकका प्रणालीलाई प्रभावित पार्न सक्ने भएकाले सुरक्षा अद्यावधिक र जोखिम न्यूनीकरणका उपाय महत्त्वपूर्ण मानिन्छन्।
राष्ट्र बैंकले सेवा बन्द गर्नुको कारण सुरक्षा जोखिम रहेको जनाएको छ। तर, बैंकको प्रणालीमा साइबर आक्रमण भएको वा तथ्यांक चोरी भएको पुष्टि भने यस सूचनाले गर्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।