काठमाडौं– बदलिँदो विश्व व्यवस्थामा बहुपक्षीय सहकार्य कमजोर हुँदै गएको हो कि देशहरू क्षेत्रीय तथा समान विचारधाराका समूहमा केन्द्रित हुन थालेका हुन्? अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग यही प्रश्न उठाएका छन्।
भारतको चर्चित टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ सत्रमा वाग्ले र जयशंकरबीच बदलिँदो विश्व परिस्थिति, बहुपक्षीयताको भविष्य र अन्तर्राष्ट्रिय सहकार्यका स्वरूपबारे प्रश्नोत्तर भएको हो।
सत्रमा प्रमुख वक्ताका रूपमा रहेका जयशंकरलाई प्रश्न गर्ने क्रममा वाग्लेले शीतयुद्धको अन्त्यपछि विश्वले बहुपक्षीयतालाई आर्थिक तथा व्यापारिक सहकार्यको सर्वोत्तम विकल्प मानेको स्मरण गराए। तर पछिल्ला वर्षमा ठूला शक्तिहरूको प्रतिबद्धता कमजोर हुँदै गएको, व्यापारिक गुटहरू बढेको र विश्वमा विखण्डन देखिएको उनको भनाइ थियो।
वाग्लेले अहिलेको प्रवृत्तिले विश्वलाई बहुपक्षीय सहकार्यको अर्को स्वरूपतर्फ लैजाँदै छ कि पुरानै व्यवस्थाबाट टाढा पुर्याउँदै छ भन्ने प्रश्न गरे।
‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौं?’ भन्दै उनले बदलिँदो अन्तर्राष्ट्रिय व्यवस्थालाई क्षेत्रीय र उपक्षेत्रीय संरचनाले कसरी सम्बोधन गर्न सक्छन् भन्ने जिज्ञासा राखे।
‘५० वटाको हाराहारीमा नयाँ समूह बनाएका छौं’
वाग्लेको प्रश्नको जवाफमा जयशंकरले पछिल्ला वर्षमा देशहरू औपचारिक अन्तर्राष्ट्रिय संरचनामा आबद्ध हुनभन्दा कम प्रशासनिक बोझ भएका र परिणाममुखी सहकार्यका स्वरूपमा बढी आकर्षित भइरहेको बताए।
उनका अनुसार औपचारिक संस्थाहरू निर्माण गर्न वार्ता, नियम, सञ्चालन खर्च र प्रतिबद्धताका विषयमा धेरै समय खर्च हुने गरेको छ। कतिपय अवस्थामा संस्थागत संरचना बनाउने प्रक्रियामै मूल उद्देश्य ओझेलमा पर्ने गरेको उनको तर्क थियो।
विश्वभर पहिलेदेखि अस्तित्वमा रहेका कतिपय औपचारिक समूहसमेत अहिले समस्यामा रहेको उल्लेख गर्दै जयशंकरले सबै प्रकारका सहकार्यलाई एउटै ढाँचामा संस्थागत गर्न आवश्यक नहुने बताए।
‘औपचारिक बनाउन सकिन्छ भने राम्रो हो, तर कतिपय अवस्थामा त्यसलाई त्यत्तिकै अघि बढाइरहनु बढी बुद्धिमानी हुन्छ,’ उनको भनाइको आशय थियो।
भारतले पछिल्लो एक दशकमा विभिन्न क्षेत्रमा करिब ५० वटा नयाँ समूहमा सहकार्य अघि बढाएको उदाहरण दिँदै उनले द्विपक्षीय, त्रिपक्षीय, चतुर्पक्षीय र समान विचारधाराका देशबीचका साझेदारी बढिरहेको बताए।
उनका अनुसार अहिले देशहरूले जटिल प्रशासनिक संरचना खडा गर्नुभन्दा कम खर्चमा प्रभावकारी नतिजा दिने सहकार्यलाई प्राथमिकता दिन थालेका छन्।
ब्रिक्सको उदाहरण दिँदै जयशंकरको तर्क
जयशंकरले औपचारिक संरचनाबिना पनि अन्तर्राष्ट्रिय सहकार्य अघि बढ्न सक्ने उदाहरणका रूपमा ब्रिक्सलाई प्रस्तुत गरे।
उनका अनुसार ब्रिक्समा स्थायी सचिवालय छैन र सबै सदस्यले हस्ताक्षर गरेको लिखित बडापत्र पनि छैन। यस हिसाबले यो सांघाई सहयोग संगठनभन्दा फरक प्रकृतिको समूह हो।
तर औपचारिक संरचना नहुनुले सहकार्य असम्भव हुन्छ भन्ने अर्थ नलाग्ने उनको तर्क थियो। कुन विषयमा सहकार्य गर्ने, साझेदारहरू को हुन् र उनीहरूको प्रतिबद्धता कति छ भन्ने आधारमा सहकार्यको स्वरूप तय हुनुपर्ने उनले बताए।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनजस्ता पहललाई भने औपचारिक संरचनाले सहयोग पुर्याउन सक्ने उनको भनाइ थियो।
विपद् र ऊर्जा सहकार्यमा भारतको भूमिका उठाए वाग्लेले
प्रश्नोत्तरको सुरुवातमा वाग्लेले योग, कोदो, सौर्य ऊर्जा र विपद् प्रतिकार्यसम्बन्धी विषय उठाएको भन्दै जयशंकरको प्रस्तुतिको प्रशंसा गरेका थिए।
नेपालका अर्थमन्त्रीका रूपमा उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा सन् २०१५ को भूकम्पका बेला भारतबाट प्राप्त सहयोगको स्मरण गरे। दुवै विपद्पछि पहिलो केही घण्टाभित्रै भारत सहयोगका लागि उपस्थित भएको उल्लेख गर्दै उनले नेपाल भारतप्रति कृतज्ञ रहेको बताए।
त्यसपछि उनले विपद् प्रतिकार्य, पोषण, ऊर्जा र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय तथा उपक्षेत्रीय सहकार्यलाई औपचारिक संस्थामार्फत बलियो बनाउन सकिने सम्भावनाबारे प्रश्न गरेका थिए।
वाग्लेको प्रश्नको केन्द्रमा बदलिँदो विश्वमा सहकार्यको स्वरूप कसरी विकास भइरहेको छ र त्यसले भविष्यको अन्तर्राष्ट्रिय व्यवस्थालाई कस्तो दिशा दिन्छ भन्ने विषय थियो। जयशंकरको जवाफले भने औपचारिक संस्थासँगै आवश्यकताअनुसार निर्माण हुने लचिला र परिणाममुखी साझेदारीको महत्त्वलाई जोड दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।