काठमाडौं- कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न २ बंगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली काठमाडौं आइपुगेका छन् ।
उनीहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए ।
बंगलादेशको यू–१९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले अस्ट्रेलियामा आयोजित टप इन्ड टि ट्वान्टी सिरिजमा सानदार प्रदर्शन गरेका थिए ।
७ खेलमा २ अर्धशतकसहित २ सय १९ रन बनाएका उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थानमा थिए । उनले अघिल्लो संस्करण बंगलादेश प्रिमियर लिगमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए ।
२४ वर्षीय अकबर अली सन् २०२० मा बंगलादेशले पहिलोपटक आइसिसी यु–१९ विश्वकप जित्दाका कप्तान हुन् । दक्षिण अफ्रिकामा भएको उक्त प्रतियोगिताको फाइनलमा भारतलाई ३ विकेटले पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो
कर्णालीले २ बंगलादेशका खेलाडीसहित ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीमा यसपटक पुनः स्कटल्यान्डका मार्क वाट देखिदैछन् । यस्तै, पाकिस्तानका अलराउन्डर हुसैन तलात पनि अनुबन्ध भएका छन् ।
कात्तिक ९ गते सुरु हुने एनपिएलको लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन् । यस्तै, राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन् ।
टोलीमा विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, सचिन शर्मा र शिवम तिवारीलाई अनुबन्ध गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।