काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनका दाजु हरिशरण लामिछानेले दसैँको अवसरमा भेटेर मुलुकको विकास, वातावरण तथा राजनीतिसँग सम्बन्धित विभिन्न ५ बुँदे सुझाव दिएका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हरिशरण लामिछानेले यो भेटघाट औपचारिक राजनीतिक नभए पनि दसैँको छेको पारेर देशको एक प्रमुख राजनीतिक दलको नेतृत्व सम्हालिरहेका भाइ रविसँग मुलुकका प्राथमिकताबारे विषयगत छलफल भएको बताएका छन्।
छलफलका क्रममा उनले रास्वपा सभापति रविलाई सुझावका रूपमा अघि सारेका मुख्य ५ बुँदाहरू:
जलवायु परिवर्तन र विपद् व्यवस्थापन: हालैको बाढीपहिरो तथा जलप्रलयबाट सिर्जित विषम परिस्थिति, यसको दिगो समाधानका उपाय र जलवायु परिवर्तन (Climate Change) लाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता।
यातायातमा ‘गेम चेन्जर’ पडवे (Podway): नेपालको भौगोलिक बनावट अनुसार देशव्यापी आधुनिक 'पडवे' निर्माणको दीर्घकालीन योजना ल्याउनुपर्ने। हेटौँडा–काठमाडौँ पुरानो रोपवेलाई वातावरणमैत्री, कम लागत र छिटो निर्माण गर्न सकिने आधुनिक पडवेमा रूपान्तरण गरी सडक ट्राफिक नियन्त्रण गर्नुपर्ने सुझाव।
भूमिगत जल पुनर्भरण र स्मार्ट ऊर्जा: काठमाडौँको जलप्रवाह सुधार गर्न जमिनमुनि पानी पठाउने ‘ग्राउन्ड वाटर रिचार्ज’ योजना कार्यान्वयन गर्ने, विपन्न तथा न्यून आय भएका नागरिकलाई निश्चित अनुपातमा निःशुल्क सुविधा दिने, साथै घरायसी सौर्य ऊर्जा उत्पादनबाट आम्दानी गर्न सकिने 'स्मार्ट मिटरिङ सिस्टम' लागू गर्ने अवधारणा।
स्थानीय तह र प्रदेशको संरचना: रास्वपाकै वाचा–पत्रबमोजिम गैरदलीय स्वतन्त्र स्थानीय तह निर्वाचन प्रणाली तथा प्रदेश संरचनाका विषयमा स्पष्ट दृष्टिकोण।
भूराजनीति र राष्ट्रिय सहमति: आर्थिक, सामाजिक तथा वर्तमान पेचिलो भूराजनीतिक परिस्थितिमा नेपालको स्पष्ट प्राथमिकता र रणनीति तय गर्नुपर्ने। मुलुकमा राजनीतिक स्थिरता, सुशासन, दिगो शान्ति र प्रगतिका लागि सबै दलबीच साझा न्यूनतम सहमति निर्माणमा जोड।
लामिछानेले दसैँको शुभकामना आदानप्रदानसहित दाजुभाइबीच देशका महत्त्वपूर्ण समसामयिक तथा दीर्घकालीन नीतिहरूमा गहन विमर्श भएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।