-भगवान गिरी/ रासस
लिस्वन- युरोपेली देश पोर्चुगल आएका गुल्मीको मुसिकोट नगरपालिका-६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परि मृत्यु भएको छ।
पोर्चुगलको राजधानी लिस्वनबाट झन्डै ३ सय ८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९ः३० बजेतिर साइकलमा सवार शर्मा रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका रिजालको उपचारका क्रममा सोही राति नै मृत्यु भएको हो।
मोटरसाइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भई उपचारार्थ रहेको जनाइएको छ।
शर्मा एक वर्ष अगाडि पोर्चुगल आएका लिस्वनमा रहेका उनका दाजु अमृत रिजालले जानकारी दिए। उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ।
दाहसंस्कारका लागि आवश्यक कानुनी प्रक्रिया सुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले बताए। नेपाल सरकारका तर्फबाट गरिनुपर्ने कानुनी सहजीकरणको काम लिस्वस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालयले गर्ने जनाइएको छ।
सन् २०१९ को ५ महिनाभित्र ४ नेपालीले पोर्चुगलमा विभिन्न कारणले ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।